समाचार

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोका कारण अवरोध कायमै

काठमाण्डौ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकको यातायात ठप्प हुन थालेको छ । केही दिन अघिदेखि सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्न थालेपछि यातायात आगमन बन्द भएको हो । बीचमा केही घण्टा खुलेको सो सडकखण्ड फेरि शनिबार रातीदेखि ठप्प भएको छ । शनिबार ८ बजेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्न सुरु गरेपनि पहिरो पन्छाउने काम भने आइतबार बिहानबाट मात्र सुरु भएको बताइएको छ ।

आइतबार बिहानबाट पहिरो पन्छाउन सुरु गरिएपनि थप पहिरो जान सक्ने भएकोले यातायात सुचारु कतिबेला हुन्छ भन्नेमा निश्चित नभएको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।

सो क्षेत्रममा बिहीबार राति मात्रै पहिरो गएर प्रहरीको भ्यानसमेत पुरिएको थियो। प्रहरीको भ्यान र त्यसमा रहेका चारजनामध्ये दुईजना प्रहरी हराइ रहेका छन्। दुईजना प्रहरीको निधन भएको थियो। बन्द यातायात २० घण्टापछि मात्रै खुलेको थियो। यसअघि असार ३ गते शनिबार सोही क्षेत्रमा पहिरो जाँदा नौ घण्टा बाटो बन्द भएको थियो। असार सात गते पनि पहिरो खसेर दुख दिएको थियो।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ। सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा नै पहिरो गएर दुख दिने गरेको हो। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्डमा दिनहु १० औ हजार गाडीहरु ओहर दोहर गर्छन्।