पु.समाचार

आइतबार अन्तिम चुनावी सभा हुँदै, कुन शीर्ष नेताले कहाँ सम्बोधन गर्दैछन् ?

काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् ।

निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका नेताहरूले आइतबार (आज) सम्म मात्रै अन्तिम चुनावी प्रचारप्रसार गर्न पाउने भएका कारण अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा सक्रिय देखिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एकैदिन दुई जिल्लाका चुनावी दौडाहमा व्यस्त रहे । शुक्रबार कैलाली पुगेका देउवाले शनिबार कञ्चनपुरका छुट्टाछुट्टै तीनवटा आमसभालाई सम्बोधन गरेका छन् । दिउँसो बेलडाँडी, बेलौरी र पुनर्वासको आमसभालाई सम्बोधन गरेका देउवा अपराह्न डडेल्धुराको पर्शुराम नगरपालिकाको सभामा सहभागी भए । त्यसपछि बेलुकी कार्यकर्ता भेटघाटमा व्यस्त बने । आइतबारै उनले डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्नुका साथै अन्य आमसभामा पनि सहभागिता जनाउँदै छन् ।

पौडेल ५ नम्बर प्रदेशमा सक्रिय
-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार दाङको राप्ती र लमही नगरपालिका तथा बाँकेको नेपालगन्ज र कोहलपुर नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । आइतबार उनले बुटवल, भैरहवा र नवलपरासीको बर्दघाटको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

-कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.रामशरण महतलगायतका नेताहरू प्रदेश नम्बर १ को विभिन्न चुनावी आमसभामा सक्रिय छन् । त्यस्तै, युवानेता गगन थापा, प्रदीप पौडेललगायत सुदूरपश्चिमका चुनावी सभामा छन् ।

एमाले नेताहरू एकैदिन दर्जन सभामा
एमाले शीर्ष नेताहरूले शनिबार एकैदिन दर्जन चुनावी आमसभालाई सम्बोधन गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल प्रदेश नम्बर १ तथा नेता माधवकुमार नेपाल प्रदेश नम्बर ७ को चुनावी आमसभामा व्यस्त बने ।

-अध्यक्ष ओलीले विराटगर महानगरपालिकासहित मोरङको उर्लाबारी नगरपालिका, पथरी र बेलबारी नगर तथा इटहरी उपमहानगरपालिकाका छुट्टाछुट्टै आमसभालाई सम्बोधन गरेका छन् ।

नेपाल पूर्व र सुदूरपश्चिम दुवैतिर सक्रिय
-वरिष्ठ नेता माधवकुमार नेपालले शनिबारै कञ्चनपुरका तीनवटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । भीमदत्त र वेदकोट नगरपालिका तथा बेलडाँडी नगरपालिकाका छुट्टाछुट्टै चुनावी आमसभालाई उनले सम्बोधन गरे ।

-नेता नेपाल आइतबार प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका, मोरङको सुन्दरपुरहरैचा नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्न कञ्चनपुरबाट त्यहाँ पुग्ने उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।

-एमाले उपाध्यक्ष वामदेव गौतम बाँकेको खजुरा नगर तथा उपमहासचिव विष्णु पौडेलले बुटवल उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । महासचिव ईश्वर पोखरेलसहित सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय तहका नेताहरू तीनवटै प्रदेशका अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जिल्ला दौडाहमा छन् ।

माओवादी केन्द्र
दुई दिन सुदूरपश्चिममा बिताएर प्रचण्ड काठमाडौंमा

आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारबाट चुनावी सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्केका थिए । पूर्वको उदयपुर हुँदै उनी बिहीबार मध्यपश्चिमको बाँके, बर्दियालगायतका जिल्ला पुगेका थिए । शुक्रबार सुदूरपश्चिमको कैलाली, कञ्चनपुरलगायतका जिल्लाका चुनावी सभामा सहभागी भएर शनिबार बिहान काठमाडौं आइपुगेका छन् ।

आइतबार प्रचण्ड खोटाङ र भोजपुरका चुनावी सभालाई सम्बोधन गर्न निस्कँदै छन् । आइतबार प्रचण्ड खोटाङमा दुईवटा चुनावी सभा र भोजपुरको एउटा चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।

रामबहादुर थापा पूर्वतिरै
माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा नेता रामबहादुर थापा शनिबार दिनभर मोरङका तीनवटा चुनावी सभामा सहभागी भए । पूर्वी मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिकाका चुनावी सभामा सहभागी भए । उनी आइतबार पनि १ नम्बर प्रदेशकै चुनावी सभामा सहभागी हुनेछन् ।

कृष्णबहादुर महरा रोल्पामा
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा गृहजिल्ला रोल्पाको चुनावी सभामा सहभागी भइरहेका छन् । उनी शनिबार त्यसतर्फ गएका हुन् । उनी १४ असारमा हुने निर्वाचनमा मत हालेर मात्र काठमाडौं फर्किनेछन् ।

दाङमा व्यस्त वर्षमान पुन
माओवादी केन्द्रका ५ नम्बर प्रदेशका इन्चार्ज हुन् वर्षमान पुन अनन्त । उनी समग्र प्रदेशकै कार्यक्रममा सहभागी भइरहेका छन् । केही दिन गृहजिल्ला रोल्पाका चुनावी कार्यक्रममा रहेका पुन शुक्रबार र शनिबार दिनभर दाङको चुनावी कार्यक्रममा सहभागी भए । उनले शुक्रबार दाङका १० वटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्मा पनि दाङमै
गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि जिल्लाका कार्यक्रमहरूमा सहभागी छन् । उनी शनिबार दाङतर्फ लागेका छन् । आइतबार उनी दाङका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उपेन्द्र यादव
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव केही दिनदेखि मोरङमा सक्रियतापूर्वक चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । विराटनगर महानगरपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेलमा संघीय समाजवादी फोरमले मेयर पाएको छ ।

विराटनगरमा कांग्रेस एक्लै र एमाले–लोकतान्त्रिक फोरमको गठबन्धन मैदानमा छ । निर्वाचन अवधिभर यादव मोरङमै रहने उनका सहयोगीले बताएका छन् ।