अन्तर्राष्ट्रिय

बम विष्फोटमा परेर पाकिस्तानमा १८ जनाको मृत्यु, सय बढी घाइते

एजेन्सी । पाकिस्तानको राजधानी इश्लामावादबाट उत्तरपश्चिममा अवस्थित पाराचीनारमा भएका दुई बम विष्फोटमा परेर कम्तिमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य एक सय जना भन्दा बढी घाइते भएका छन् ।

लगातार भएको दुई विस्फोटनका घटना शुक्रबार दिउसोको समयमा भएको स्थानीय उर्दु टेलिभिजन च्यानल जिओले जनाएको छ ।

स्थानीय समय अनुसार दिउसो ५.३० बजे इद पर्वका लागि सरसामानहरु किन्न व्यस्त भईरहेका बेला भीडमा विस्फोटन गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अर्को विस्फोटन केही मिनेटको अन्तरमा पहिलो विस्फोटनबाट प्रभावितहरुलाई उद्धार गरेर राखिएको ठाँउमा भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।  दोस्रो विस्फोटन आत्मघाती विस्फोटन भएको जस्तो देखिएपनि आधिकारीक पुष्टी भने भइसकेको छैन ।

दुवै विस्फोटनमा परी घाइते भएकाहरुलाई सुरक्षाकर्मीहरुले तत्काल उद्धार गरेको संबाददाताहरुले बताएका छन् ।