खेलकुद

दोश्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

असार । इंग्ल्याण्डसँगको दोश्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिकाले रोमाञ्चक जित हात पारेको हो । इंग्ल्याण्डका ज्यासन रोयले ६७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै जानी बेयरस्टोले ४७ रन बनाए ।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले एभिडि  भिल्लिएर्सको ४६ र जेजे स्मुट्सको ४५ रनको मद्दतमा २० ओभरमा १ सय ७४ रन बनाएको थियो । यो जितसँगै तीन ट्वेन्टी  ट्वेन्टी श्रृँखलामा दक्षिण अफ्रिकाले १–१ को बराबरी गरेको छ । यस्तै वेष्टइण्डिज र भारतबिचको एकदिवसीय क्रिकेट पानी परेपछि अवरुद्ध भएको छ ।

पहिले ब्याटिङ गरेको भारतले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । पानी पर्दा सम्म विराट कोहली ३२ र महेन्द्र सिंह धोनी ९ रनमा खेलिरहेका थिए । ओपनर शिखर धवनले ८७ र अजिन्क्या रहानले ६२ रन बनाएपछि भारतले राम्रो शुरुवात गरेको थियो ।