पु.समाचार

यस्तो छ प्रधानमन्त्री देउवा जन्मेको गाउँको चुनावी माहोल !

मटेला । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै थिए ।

डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै थिए ।

यो वडामा २ हजार ८ मतदाता छन् । साविकको आसखर्क गाविस अहिले गाउँपालिका भइसकेको छ । यही आसखर्क गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त भने त्यहीँ बस्छन् ।

माओवादीका उम्मेदवार भण्डारीले मतदाताको हिसाब गर्दा आफैंले जित्ने आँकडा पाए । नजिकैका अर्का एकजनाले जवाफ फर्काए लौ अब किन प्रचार गर्नुपर्यो र, तमिले जितिगयौु, भण्डारी मुस्कुराए । त्यही बगलमा लठ्ठी टेक्दै एक वृद्ध मिसिन आइपुगे । उनी देउवाका आफन्ती भाइ, धर्मसिंह देउवा थिए । चियापसलमै गफिइरहेका एकजनाले जिस्क्याए, च्या खान्या हो, माउवादीको…? देउवाले जवाफ फर्काए च्या पनि माओवादी र कांग्रेसको होला र ? , त्यो ता भोटका बेला मात्रै हो ।

प्रधानमन्त्रीको घर कहाँनेर त ? प्रश्न खस्न नपाउँदै देउवाले भण्डारीतिर औंलो देखाएर भने, त्यहाँ थियो, माओवादीले जलाइदिए…., भण्डारी मुस्काइरहेका थिए । नाताले भाइभाइका छोरा पर्ने धर्मसिंह देउवाले आफ्ना भाइ शेरबहादुर देउवालाई दुई महिनाअघि मात्रै काठमाडौंमै भेटेका थिए । त्यसपछि शेरबहादुर प्रधानमन्त्री भए ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ,  धर्मसिंह पनि ०२६ सालदेखि ०३६ सालसम्म लगातार दुईपटक गाउँका प्रधानपञ्च थिए । ०३६ सालमा भएको जनमतसंग्रहका बेला उनले राजीनामा दिए । त्यसपछि ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सभामुख पनि भएका थिए । देउवाको गाउँमा अहिलेसम्म कांग्रेसले हारेको छैन । त्यसैले पनि चुनाव जित्नेमा ढुक्क छन् कांग्रेसी । यो वडाबाट कांग्रेसका प्रत्याशी अध्यक्ष चेतराज भट्ट भन्छन्, संगठन पहिलादेखि नै बलियो हो, हामीले जित्छौं हामीले हार्ने चान्सै छैन । उनीसँग एमालेका रामचन्द्र जैशी र माओवादीका विक्रमबहादुर देउवा चुनावमा भिड्दै छन् । विक्रम शेरबहादुरकै काकाका छोरा हुन् ।

बीस वर्ष अघिको चुनाव सम्झिँदै शेरबहादुरका भाइ धर्मराज भन्छन्, २० वर्षपछि यो बुढ्यौलीमा फेरि भोट हाल्न पाइने भो, त्यो चुनाव र यो चुनावमा हेर्दा जना धेरै बाठा भइसक्याछन् । त्यहीबेला एक हुल महिला रोपाइँ सकेर फर्कंदै थिए । महिला मतदाता पनि कम देखिएनन् । उनीहरूलाई चुनावले त उत्साहित गराएको छ नै त्यसमा पनि प्रधानमन्त्रीको गाउँका महिला, अलि सचेत नै देखिए । एकजना महिला कमली सार्कीले भनिन्, अब ता पैलाजस्तो काँ हुन्छ र, भोट त रोजेर हाल्न्या हो, अरूले भन्ने हुन्न ।

पहिलाजस्तो गाउँको वा घरको नेताले भनेर अब भोट नहाल्ने उनको भनाइ थियो । टाइम त फेरियो नि, यी अब प्रधानमन्त्रीसँगै भोट हाल्न पाइने भो । प्रधानमन्त्रीले गाउँकै आसखर्क उच्च माविको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

त्यसका लागि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित शनिबार डडेल्धुरा आइपुग्ने कार्यक्रम छ । शनिबार दिउँसो जोगबुढाको परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गरेपछि उनीहरु सदरमुकाम अमरगढीमा बस्नेछन् ।

केही दिन पार्टीका कार्यकर्ता भेटघाटलगायत अन्य कार्यक्रममा व्यस्त रहने देउवा १४ गते आफ्नै टोलको मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री भोट हाल्न गाउँ आउने भएपछि सदरमुकामदेखि उनको गाउँसम्म जाने बाटोमा डोजर लगाउने तयारी भएको छ । हिउँदको बेलामा दिनको एक समय जिप मात्रै चल्नसक्ने उनको गाउँको बाटोमा वर्षायाममा गाडी चल्न सक्दैन । अहिले पनि बाटो केही बिग्रिसकेको छ।

देउवाको पुख्र्यौली घरको खोलापारि जाने त झन् बाटो पनि छैन । एउटा सानो झोलुंगे पुल बनेपछि बल्ल त्यहाँ जान सजिलो भएको छ । चाररचार पटक प्रधानमन्त्री भइसकेका देउवाको आफ्नै गाउँको बाटो किन यस्तो त ? दुईपटकसम्म प्रधानपञ्च भइसकेका उनका भाइ धर्मसिंह भन्छन्, ऊ त सानैबाट देशको अनि सारा देशका जनताको विकास हेर्ने भैगो, अब गाउँको विकास त हाम्ले गर्ने हो ।

घरका महिलाजति सबै रोपाइँमा व्यस्त छन् । युवाहरू आफू समर्थक पार्टीको चुनावी प्रचारमा टाढा टाढा गाउँगाउँ पुगेका छन् । त्यसैले देउवाको टोल अहिले सुनसानजस्तै छ । वरिपरिका घरहरू ठडिएका छन् । तर, देउवा जन्मिएको घर भने युद्धकालमै माओवादीले ध्वस्त पारिदिएको थियो ।