राजनीति

यसरी एक्कासि फेरियो तराई–मधेसको राजनीतिक शक्ति सन्तुलन, कांग्रेसका लागि खुसीको खबर !

काठमाण्डौ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस निकै आक्रमक ढंगले तयारीमा लागेको छ । पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम हासिल नभएपछि योपटक भने कांग्रेसले आक्रमक रणनीति तय गरेको हो ।  असार १४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन हुने ३५ जिल्लाहरुमा सो पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य सबै नेताहरु पुगिसकेका छन् । केही दिनअघि मात्र कांग्रेसले ३५ जिल्लामा आफ्ना प्रतिनिधि खटाउने निर्णय गरेको थियो । निर्वाचनमा विशेषगरी तराई मधेसमा विशेष केन्द्रीत रहेको कांग्रेसले पहिलो चरणको निर्वाचनमा गिरेको साख उठाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

कांग्रेसले योपटक तराई मधेसमा हुने सम्भावित कडा प्रतिस्पर्धालाई मध्यनजर गदै प्रचार–प्रसारको कामलाई समेत व्यवस्थित र आक्रमक बनाएको जनाएको छ । चुनावी प्रचार–प्रसार अन्तिम चरणमा पुगेपनि पार्टीले राम्रो आधार निर्माण गरिसकेको कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले बताए ।

मधेसमा सबैभन्दा अघि कांग्रेस !
राष्ट्रिय जनता पार्टीले चुनाव विथोल्ने घोषणा गरेपनि तराई मधेसमा जसरी पनि चुनाव सम्पन्न गर्ने सरकारको तयारी छ । पछिल्लो समयमा राजपाभित्रै देखिएको नेता र कार्यकर्ताबीचको अन्तरविरोध,मधेसवादी दलका नेताहरुबीचमै देखिएको चर्को आरोप–प्रत्यारोप लगायतका कारण पनि चुनावी मैदादमा रहेका कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु चुनाव राम्रोसँग सम्पन्न हुनेमा ढुक्क देखिन्छन् ।

त्यतिमात्र होइन केही समयअघिसम्म देखिएको तराई–मधेसभित्रको राजनीतिक शक्ति सन्तुलन पनि अहिले फेरिएको संकेत देखिएको छ । राजपाले चुनाव विथोल्ने आन्दोलनका कार्यक्रम घोषणा गर्नु, त्यहिबेला मधेसकै संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम लगायतका पार्टीहरुले त्यसको चर्को विरोध गर्नुले तराई–मधेसको राजनीतिक शक्ति सन्तुलन ठूला राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीको पक्षमा देखिएको छ । यसले ठुला दलहरुलाई मधेसमा चुनाव जित्नका लागि एउटा सुःखद संयोग जुरेको देखिन्छ ।

तराई–मधेसमा ठुला राजनीतिक दलहरुमा पनि कसको बढी माहोल होला त ? भन्ने प्रश्नमा कांग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेलले भने, ‘कांग्रेसको तराई–मधेसमा राम्रो स्थिति देखिदै गएको छ । ठाउँ विशेष एमाले र मधेसवादी दलहरुसँग प्रतिस्पर्धा हुने भएपनि हामीले अहिले प्रभावकारी कार्यक्रम लगेकाले अधिकांश स्थानमा कांग्रेस अघि देखिएको छ ।’

त्यस्तै,माओवादी केन्द्रको गढ मानिने रोल्पा जिल्ला खटिएका नेपाली कांग्रेसका अर्का प्रभावशाली युवा नेता उदयशम्शेर राणाले पनि कांग्रेसले पहिलो चरणको निर्वाचनमा भन्दा अहिले राम्रो तयारी गरेको बताए । रोल्पामा आफ्नो पार्टीको प्रतिस्पर्धा माओवादीसँग रहेको स्पष्ट पार्दै उनले त्यहाँ पनि उनीहरुलाई पल्टाउने तयारीमा कांग्रेस जुटेको प्रतिक्रिया दिए ।

पछिल्ला दिन ३५ ओटा जिल्लामा आफ्नो पार्टीका केन्द्रीय प्रतिनिधिहरुदेखि सबै नेता कार्यकर्ताहरु चुनावमा अहोरात्र खटिरहेको बताउँदै नेता राणाले तराई मधेसमा समेत नेपाली कांग्रेस सबैभन्दा अघि रहेको दाबी गरे । राष्ट्रिय जनता पार्टीभित्र नेतृत्व र कार्यकर्ताबीच देखिएको पछिल्लो अन्तरविरोधप्रति संकेत गर्दै उनले उनीहरुको त्यो शैली राजनीतिक रुपमा अव्यवहारिक शैली भएको स्पष्ट पारे ।

नेता राणाले भने, ‘संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम चुनावको पक्षमा छ, राजपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिइरहेका छन्,नेताहरुले चाहि चुनाव बहिष्कार गर्ने भनिरहेका छन्, त्यसैले पनि अहिले चुनावमा राजपाको प्रभाव कतै देखिएको छैन ।’ त्यसकारण पनि तराई–मधेसमा चुनाव हुन्छ भन्नेमा आफुहरु ढुक्क रहेको उनले बताए ।