राजनीति

धनगढीमा के भन्छन् त जनताको मत तान्न प्रमूख दलका उमेर्द्वारहरु ?

धनगढी । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरको प्रमुखका प्रत्यासीहरुले मतदाता समक्ष उपमहानगरको विकास र समृद्धिलाई मुख्य प्राथमिकताको विषय बनाएका छन् ।

धनगढी जेसिजले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रममा आ–आफ्ना विकासका योजना सुनाउँदै उपमहानगरको प्रमुख पदका प्रत्यासीले स्वरोजगारका कार्यक्रमदेखि धनगढीलाई समृद्ध र सुन्दर, हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार नृप ओडले धनगढीलाई ‘स्मार्ट सिटी‘को रुपमा विकास गर्दै समृद्ध र सुन्दर सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले लामो सयमदेखि जग्गाको पूर्जा नपाएकालाई पूर्जा वितरण गर्ने, नदी कटान र डुबान रोकथाम, ढल निकास, कृषि, स्वास्थ्य, खेलकूद र शिक्षाको विकास, स्वरोजगारका अवसर जुटाउने, सुशासन प्रवद्र्धन, आदिवासी जनजातीको कला र संस्कृतिको विकास लगायतका योजनालाई प्राथमिकता दिने बताए ।

नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार दुर्गाप्रसाद जोशीले धनगढीको समग्र विकासका लागि आफूले ‘क्यालेन्डर‘ अनुसार योजनाबद्ध रुपमा काम गर्ने बताए ।

जोशीले शिक्षामा भएको विभेदीकरणको अन्त्य, बृद्ध भत्ता वृद्धि, विकासका लागि लगानी मैत्री वातावरण, भ्रष्टाचार नियन्त्रण, अन्तर्राष्ट्रिय बस बिसौनीको निर्माण, गेटा विमानस्थलको स्तरोन्नति गर्नेलगायतका योजना रहेको सुनाए ।

राप्रपाका प्रमुख पदका उम्मेदवार विष्णुबहादुर साहूले आफू प्रमुखमा निर्वाचित भए कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास, सडक विस्तार तथा ढल निकासको व्यवस्थाका साथै स्वरोजगारका अवसर सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसीले आफू प्रमुखमा निर्वाचित भए सहरबाट नभई गरिब र निमुखा बस्तीबाट विकासको अभियान सुरु गर्ने बताउनुभयो । ‘धनगढीलाई चक्रपथ सहितको स्वच्छ, सफा र सुन्दर नगर बनाउने आफ्नो योजना रहेको उनले उल्लेख गरे  ।

प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७ नम्बर प्रदेशमा विकास र अवसरका सम्भावना प्रशस्त रहेको र त्यसको उपयोगका लागि आफू योग्य रहेको दाबी गरे ।

‘आफू निर्वाचित भएमा मध्यकालीन र दीर्घकालीन योजना बनाएर समृद्ध धनगढी बनाउन अघि बढ्ने छु ।‘उनले थपे ।
राजनीतिक दलका उम्मेदवारतर्फ लक्षित गर्दै हमालले राजनीतिलाई पेसाका रुपमा नलिई सेवाको रुपमा लिन सल्लाह दिए ।

कार्यक्रमा सहभागीले प्रमुख पदका प्रत्यासीलाई विकास सम्बन्धित प्रश्न गरेका थिए । १९ वटा वडा रहेको धनगढी उपमहानगरको अधिकांश वडामा अझैसम्म पनि उचित सडक, खानेपानी, लगायतका विकासका आधारभूत पूर्वाधार पुग्न सकेको छैनन् ।

साविकको धनगढी नगरपालिकालाई डेढवर्ष अघि मात्र उपमहानगरपालिका घोषणा गरिएको थियो । उपमहानगर घोषणा गर्दा साविकको उर्मा र फूलवारी गाविसलाई उपमहानगरमा समेटिएको हो । यस्तै पुनःसंरचनाका क्रममा साविक गेटा र बेलादेविपुरका केही वडालाई धनगढी उपमहानगरमा समेटिएको छ ।

डुवान, कटान, सुकुम्बासी र अव्यवस्थित बसोवासी समस्या, ढल निकास, फोहर व्यवस्थापन, लगायतका समस्यालाई मुख्य समस्याका रुपमा लिइने गरिएको छ । ७६ हजार ४३० मतदाता रहको यो उपमहानगरको प्रमुखमा काँग्रेसका ओड, एमालेका जोशी, माओवादी केन्द्रका राना थारुबीचनै कडा प्रतिस्पर्धा हुने यहाँ बुद्धजीविको विश्लेषण छ । दलका यी उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिनसक्ने एकथरी मतदाताको विश्लेशण छ ।

यी उम्मेदवारबाहेक राजमोका कृष्णप्रशाद चौधरी, नेमकिपाका सुर्जन तिवारी, नेपाल परिवार दलका खडकसिं नगरी, सङ्घीय समाजवादी फोरम नेपालका सावित्रीदेवी, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट र नयाँ शक्तिका कृष्णानन्द गिरी समेत प्रमुखको प्रतिस्पर्धामा छन् ।

सात नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका र मुख्य व्यापारिक केन्द्र धनगढीको स्थानीय तहको निर्वाचनलाई प्रमुुख दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।

उम्मेदवारको मनोनयन दर्ताको काम सम्पन्नसँगै कैलाली जिल्लाका धनगढी उपमहानगरसहित सबै १३ स्थानीय तहका विभिन्न पदका प्रत्यासीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।