खेलकुद

तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया जाने

काठमाडौं । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ ।
पहिले नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि रन्जन श्रेष्ठ, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ र ८७ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ४६ केजीमुनि रेजिना कार्की, ५३ केजीकुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा तथा ७३ केजीमाथि ओलम्पियन निशा रावलले भाग लिने छन् ।

टिम प्रशिक्षकमा जे हो ली तथा व्यवस्थापकमा भानबहादुर चन्द रहेका छन् । विश्व च्याम्पियनसिपमै सहभागी टोलीले असार १८ देखि २३ गतेसम्म छुनचियोनमा हुने छुनचियोन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने छन् ।
छुनचियोनमै हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाउने कार्यक्रम छ । असार १७ मा हुने उक्त प्रतियोगितामा ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।

पुरुषको ७५ केजीमुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले सहभागिता जनाउने छन् । टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

त्यस्तै विश्व तेक्वान्दो च्याम्पियनसिपको उद्घाटनका अवसरमा अभिभावकका रुपमा तेक्वान्दो संघकी सदस्य नन्दा बस्याल तथा खेलाडीद्वय सपना नेपाली र सविन कार्की सहभागी हुँदैछन् । उनीहरु विश्व तेक्वान्दो महासंघको निमन्त्रणमा सहभागी हुन लागेका हुन् ।
सपना नेपाली तेक्वान्दो संघले असाहय बालवालिका संरक्षित विभिन्न ८ संस्थामा सञ्चालन गरिरहेको तेक्वान्दो प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी हुन् भने सविन सिन्धुपाल्चोकका भूकम्प पीडित हुन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल र तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले महानगरपालिकाकै सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे । टोली बुधबार प्रस्थान गर्दैछ ।

कार्यक्रममा मेयर महर्जनले लामो सयमदेखि स्थानिय तह पदाधिकारी विहीन भएकोले खेलकुदमा स्थानिय स्तरमा उत्साहजनक प्रगति नभएको बताउदै अब खेलकर्मीले खेलकुदमा परिवर्तनको आभास गर्ने बताए ।