प्रवास

जापानबासीका गार्जन भएकोमा दर्जन संस्थाद्वारा राजदूत राणा सम्मानित

प्रकाश पन्थी

टोकियो (जापान)। जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई यहाँ क्रियाशील दर्जनभन्दा बढी सङ्घसंस्थाले आइतबार सम्मान गरेका छन् ।

राजदूत अभावमा लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला प्रतिनिधि भएर पनि राजदूत भएर आएकोमा टोकियोमा सम्मान गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा यहाँका सक्रिय दर्जन बढी सङ्घसंस्थाका प्रतिनिधिले राजदूत राणालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

टोकियो महानगरपालिकाको सिंजुकु सहरको प्रिन्स होटलमा आयोजित सम्मान कार्यक्रममा चार दर्जनभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएर जापानका लागि महिला अभिभावक पाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनीहरुले विगतमा कार्यवाहक राजदूतले गरेका राम्रा कामको अनुशरण र नयाँ काम छिटोछरितो तथा नेपाल–जापान सम्बन्ध अझ नजिक बनाउन सुझाव पनि दिएका छन् ।

कार्यक्रममा जापानस्थित विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिले केही नेपालीका गलत गतिविधिका कारण अन्य नेपालीलाई समस्या भएको भन्दै सम्बन्ध सुधारमा लागेर देखाउन आग्रह गरेका थिए ।

सम्मानपछि राजदूत राणाले सबै नेपालीको एकता देखेर आफूलाई खुसी लागेको भन्दै भोलिका दिनमा सधैँ नेपाल र नेपालीको पक्षमा काम गर्ने बताए । उनले सम्बन्ध सुधारमार्फत प्रविधिको विकासका लागि उच्चस्तरीय भ्रमण गराउने योजना रहेको भन्दै जापान सरकार र नेपाल सरकारबीच उच्चस्तरको भ्रमण गराएरै छाड्ने प्रतिबद्धता जनाए ।

लगातार कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार राजदूत राणा एकमहिना अघि जापान आएर सम्हाल्दै आएका छन् ।