समाचार

उमेर्द्वारी दर्ता गराउने क्रममा बाजुरामा मृत्यु भएकाप्रति निर्बाचन आयोगले यसो भन्यो

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा मनोनयन पत्र दर्ता गर्न जाने क्रममा राजनीतिक दलका कार्यकर्ता बीच झडप हुँदा सोही स्थान बस्ने बर्ष ५० का हंसबहादुर राउत गम्भीर घाइते भई उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा निधन भएकोमा आयोग गहिरो दुःख प्रकट गर्दछ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले घटनाप्रति दुःख प्रकट गर्दै स्वर्गीय राउतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ । साथै आयोगले सो घटनामा घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा असार ४ गते कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिका वडा नं. ४ भित्री हुलाकी सडक खण्डमा अचानक बम विष्फोट हुँदा १० जना घाइते हुनुभएको सो घटनाप्रति पनि आयोगले गहिरो दुःख व्यक्त गरेको छ । घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र्र स्वास्थ्यलाभको कामना गरेको छ ।

संयमता अप्नाउन दल तथा उम्मेदवारहरुसँग आग्रह साथै निर्वाचन आयोगको सोमबारको बैठकले दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाई सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग आयोग हार्दिक अपिल गर्दछ ।   प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन आग्रह आगामी असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।