राजनीति

यसरी सकिने भो अब तराई–मधेसमै राजपा, यी पार्टीले लिँदैछन् राजपाको स्थान !

काठमाण्डौ । आइतबार प्रदेश नम्बर १,५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा उम्मेद्वारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता भएको हो । असार १४ गते हुने दोश्रो चरणको निर्वाचनका लागि आइतबार उम्मेद्वारी मनोनयन दर्ता भएपछि अब यी क्षेत्रमा निर्वाचनको प्रक्रिया सुरु भएको छ । त्यसो त राष्ट्रिय जनता पार्टीले बखेडा झिक्दै आएका ५ नम्बर प्रदेशका ३ जिल्लामा समेत शान्तिपूर्ण ढंगले मनोनय पत्र दर्ता भएको छ । मनोनय दर्ताका बेला ती जिल्लामा राजपाको कुनै प्रभाव देखिएन ।

संविधान संशोधन नभई चुनाव विथोल्ने उद्घोषका साथ आन्दोलनमा होमिएको राजपाको ५ नम्बर प्रदेशका यी ३ जिल्लामा समेत मनोनयन पत्र दर्ताका दिन कुनै उपस्थिति नदेखिएपछि उसको शक्ति कति कमजोर रहेछ र सरकार राजपाले देखाएको हाउगुजीमा कति धेरै डराएको रहेछ भन्ने आइतबार पुष्टि भएको छ । यद्यपि, कपिलवस्तुमा भने बम विष्फोट भएको र ९ जना कांग्रेस–माओावादीका कार्यकर्ता घाइते भएको बताइएपनि सो घटना विप्लव नेतृत्वको पार्टीले गराएको आशंका गरिएको छ तर उम्मेद्वारी दर्ताको काम भने सम्पन्न भएको छ ।  वास्तवमा आइतबार राजपाले ५ नम्बर प्रदेशका यी ३ जिल्लामा थरुहट–मधेस बन्दको आह्वान गरेको थियो । सो बन्द आह्वानको अवज्ञा गर्दै उम्मेद्वारहरुले ३ वटै जिल्लाहरु नवलपरासी, कपिलवस्तु र भैरहवामा उम्मेद्वारी दर्ता गराएका हुन् ।

कांग्रेस,एमाले,माओवादी,फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल लगायतका दलका उम्मेद्वाहरुले निर्धक्कका साथ उम्मेद्वारी दर्ता गराएपछि राजपाको शक्ति र प्रभाव कति रहेछ भन्ने कुरा प्रमाणित भएको स्थानीय सर्वसाधारणहरुनै बताउन थालेका छन् । चौबिस घण्टाभित्रै राजपाको हविगत मोहन वैद्य नेतृत्वको माओावादीको भन्दा तल पुगेको भन्दै ती जिल्लाका सर्वसाधारणले समेत राजपालाई पत्याउन छाडेका छन् ।

राष्ट्रिय जनता पार्टीले सरकारले दुई नम्बर प्रदेशको चुनाव असोज २ गते सारेको बेला यी ३ जिल्लाको चुनाव पनि सार्न माग गर्दै आएको छ । तर सरकारले यी ३ जिल्लाको चुनाव भने कुनै हालतमा सार्न नसकिने बताएपछि राजपाले बन्दको आह्वान गरेको थियो । उसले गरेको बन्दको प्रभाव नवलपरासीको राजमार्ग क्षेत्रमा समेत नपरेको स्थानीय सञ्चारकर्मीहरुले बताएका छन् ।

केही गाउँपालिकामा राजपाका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपनि कडा सुरक्षा व्यवस्थाका साथ त्यहाँ पनि मनोनयन दर्ता भएको बताइएको छ । त्यस्तै, रुपन्देही र कपिलवस्तुमा पनि निर्वाध रुपमा उम्मेद्वारी दर्ता भएको बताइएको छ । यद्यपि, यता जनकपुर लगायतका शहरहरुमा भने उसका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको बताइएको छ ।

राजपाको भविष्य वैद्य माओवादी हुने खतरा !

राष्ट्रिय जनता पार्टीले जब दुई नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव राख्यो, उसको प्रस्ताव बाहिर आइनसक्दै सरकारले असोज २ गते चुनावको घोाषणा गर्यो । राजपाको तराई–मधेसमा कति शक्ति छ र त्यसको प्रभाव कति पर्छ भन्ने आंकलननै नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले हतारमा चुनाव सारेको आरोप समेत लागिरहेको छ । वास्तवमा राजपा तराई मधेसमा कति शक्तिशाली छ भन्ने कुरा त आइतबार ५ नम्बर प्रदेशमा उसले गरेको बन्दको आह्वान र त्यसको प्रभावले सावित गरिसकेको छ ।

२ नम्बर प्रदेशलाई पनि राजपाले सरकारसँग बार्गेनिङ गर्ने क्षेत्रको रुपमा उपयोग गरेको मधेस मामिला जानकारहरु बताउँछन् । वास्तवमा तराई–मधेसका शक्तिशाली पार्टी भनेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम हुन् । यी पार्टीको तराई मधेसबाट जता समर्थन रहन्छ, उतै शक्ति समिकरणको तराजु ढल्किने जानकारहरु बताउँछन् ।

त्यसैले,राजपाले राखेका मागहरुमा सरकार धेरै लचिलो भएका आरोप समेत लागिरहेका छन् । वास्ततवमा राजपाले स्वच्छ प्रतिस्पर्धा गर्ने र ठुला दल र सरकारले कडा अडान लिने हो भने राजपाको हालत मोहन वैद्य नेतृत्वको माओवादीको हालतमा पुग्ने धेरैको आंकलन छ, किनभने मोहन वैद्य नेतृत्वको माओवादीले पनि यसअघि यही खालको धम्की दिँदा अहिले उक्त पार्टीको प्रभाव शुन्य प्रायः रहेको देखिन्छ ।

राजपा र अन्य मधेसवादी दलका नेता–कार्यकर्ता धमाधम पार्टी छाड्दै

पछिल्लो समयमा राजपा र अन्य मधेसवादी दलका नेताहरु धमाधम पार्टी छाड्दै एमालेमा प्रवेश गरिरहेका छन् । आइतबार मात्र राजपाकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश गरेकी छन् । केही हप्ताअघि देखि मधेसमा मेयरको टिकट पाइने आशामा थुप्रै नेताहरु एमालेमा प्रवेश गरिरहेका छन् । सप्तरीको राजविराज, पर्साको वीरगञ्ज,लाहान लगायतका प्रभावशाली शहरहरुमा त्यहाँका स्थानीय लोकप्रिय नेताहरुनै पार्टी छाडेर एमाले प्रवेश गरेपछि तराईमा एमालेको जनलहर ह्वात्तै बढेको छ ।

अर्कोतिर एमाले र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीचमा सहकार्य बढ्ने सम्भावना देखिएसँगै राजपालाई असोज २ को चुनाव पनि घाँडो हुने देखिदै गएको छ, किनभने त्योबेलासम्म असार १४ गते आएको मतपरिणामले मधेसको राजनीतिक शक्ति सन्तुलन राजपा र मधेसवादी दलहरुको हातमा नहुने निश्कर्ष राजनीतिक विश्लेषकहरुले निकाल्न थालेका छन् ।

कांग्रेस र एमालेलाई फाईदा !
राष्ट्रिय जनता पार्टी र मधेसवादी अन्य दलबाट निस्क्रिय र पलायन भएका नेता–कार्यकर्ताहरु अन्तत मुलुकका प्रभावशाली दलहरु नेपाली कांग्रेस र एमालेमा प्रवेश गर्ने निश्चित छ । माओवादी केन्द्रप्रति पछिल्ला वर्ष देखिएको जनताप्रतिको अविश्वासका कारण सो पार्टीमा मधेसवादी नेता–कार्यकर्ताहरुमै अविश्वास देखिन्छ । मधेसका ठूला सहरहरु विशेषगरी विराटनगर,वीरगञ्ज,नेपालगञ्ज लगायतका सहरहरुमा समेत कांग्रेस र एमालेनै बढी प्रभावशाली देखिएका छन् । किनभने यी सहरहरुमा समेत यसअघि देखिनै कांग्रेस र एमालेकै विजय भएको देखिन्छ ।

वास्तवमा राजपा र अन्य मधेसवादी दलहरुलाई जनमुखी भन्दा पनि नेतामुखी पार्टीको रुपमा चित्रित गरिन थालिएको छ । मुखिया शैलीमा मधेसवादी दलका नेताहरुले पार्टी चलाएको र जनाधार र उनीहरुको चाहनालाई विर्सेर निर्णय गर्दा राजपा लगायतका शक्तिहरुको तराई मधेसमै भविष्य सकिँदै गएको मधेस मामला जानकारहरु बताउँछन् ।