खेलकुद

यसकारण एक्कासि चम्कियो विराट कोहलीको भाग्य

एजेन्सी । भारतीय कप्तान विराट कोहलीको भाग्य अहिले चम्किएको छ। उनले कुनै चिज छोए सुन बन्ने अवस्थामा छ। यसैले होला, अहिले उनलाई प्रायोजन गर्न प्रायोजकहरुको भीड लाग्ने गरेको छ। कोहलीले भर्खरै टायर निर्माता कम्पनी एमआरएफसँग १६ सय करोडको सम्झौतामा हस्ताक्षर गरेका छन्। नियमअनुसार यति पैसाका लागि उनले आफ्नो ब्याटमा एमआरएफको लोगो लगाए पुग्ने छ।

इकोनोमिक टाइम्सका अनुसार विराटले ८ वर्षका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्। विराट यसअघि पनि यही कम्पनीको लोगो आफ्नो ब्याटमा टाँसेर खेल्थे। एमआरएफसँग उनको अनुबन्धको मिति समाप्त हुन लागेको थियो।

केही दिन अगाडि विराटले पुमा ब्रान्डसँग पनि १६ सय करोड रुपैयाँको सम्झौता गरेका थिए। यो सम्झौता पनि ८ वर्षका लागि थियो। सम्झौताको विषयमा कर्नरस्टोन स्पोर्ट्स एन्ड इन्टरटेनमेन्ट कम्पनीका सिइओ बन्टी सजदेहले जानकारी दिएका थिए। उनले विराटसँग सम्झौता गर्न एमआरएफ निकै उत्साही रहेको जानकारी दिए।

यसअघि एमआरएफले सचिन तेन्दुलकर, ब्रायन लारा र स्टिभ वाँ जस्ता दिग्गज ब्याट्सम्यानसँग सम्झौता गरेको थियो। यतिबेला एमआरएफले शिखर धवन र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डीभिलियर्सलाई पनि सम्झौता गरेको छ।