पु.समाचार

आज मनोनयनपत्र दर्ता गरिदै

काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको चुनावमा निर्वाचन आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको जानकारी समेत दिएको छ ।

आइतबारको गोरखापत्रमा लेखिएको छ, प्रदेश नं. १, ५ र ७ मा हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था पनि भरपर्दो बनाएको भन्दै आयोगले निर्धक्क भएर मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । दोस्रो चरणमा एक महानगरपालिका ९विराटनगर०, सात उपमहानगरपालिका, एकसय ११ नगरपालिका र दुईसय १५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा निर्वाचन हुने आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए। यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिँदैछन् । त्यसबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ ।

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चारहजार ५८१ मतदान स्थल र त्यसका लागि आठ हजार ३६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक मात्रै ६६ हजार ९०० कर्मचारी खटिन लागेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताए।

दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । महिला, दलित, अल्पसङ्ख्यकलगायत उम्मेदवारका लागि मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले जानकारी दिएको छ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, पारदर्शी, भयरहित र विश्वसनीय बनाउन सरकारका तर्फबाट सुरक्षाको प्रतिबद्धता आएको बताउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन सबै मतदातालाई अपिल गरेको छ । मतदान प्रक्रियामा कसैले अवरोध सिर्जना गर्न खोजे सुरक्षाकर्मीले तदारुकतासाथ त्यसलाई निरुत्साहित गरी शान्ति सुरक्षाको व्यवस्था गर्नेमा आयोग विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त डा। यादवले बताए।

निर्वाचनलाई थप विश्वसनीय बनाउन फागुन १८ देखि आचारसंहिता कार्यान्वयनमा रहेको र त्यसको अनुगमनका लागि आयोगका आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति बनाइएको आयोगले जानकारी दिएको छ । आचारसंहिता उल्लङ्घन गर्नेलाई जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ । केही संवेदनशील जिल्लामा सूक्ष्म अनुगमनकर्ता पनि खटाइएको आयोगले जानकारी दिएको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रदेश नं १, ५ र ७ मा आठ हजार ३५० कर्मचारी मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए। त्यसको अलावा सञ्चारमाध्यममा पनि मतदाता शिक्षासम्बन्धी १६ भाषाका सूचना तथा सन्देश प्रकाशन र प्रसारणको व्यवस्था मिलाइएको उनले बताए । पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखी दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने सरकारले प्रतिबद्धता जनाएको प्रमुख आयुक्त डा। यादवले बताए। दोस्रो चरणको निर्वाचन पर्यवेक्षणका लागि ४७ संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई अनुमति दिइएको आयोगले जानकारी दिएको छ ।
आयोगले यसअघिको पहिलो चरणको निर्वाचनमा १२ वटा कूटनीतिक नियोगका सदस्यलाई निर्वाचन अवलोकनको व्यवस्था गरेको थियो भने दोस्रो चरणको निर्वाचनमा काठमाडौँ उपत्यकामा रहेका कूटनीतिक नियोगका सदस्यलाई विभिन्न ८ सहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले बताए।

उनका अनुसार प्रदेश नं १ को विराटनगर र धनकुटा, प्रदेश नं. ५ को भैरहवा र पाल्पा, प्रदेश नं ७ को धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको व्यवस्था गर्ने तयारी पनि आयोगले गरेको यादवले बताए । त्यस्तै, निर्वाचनसँग सम्बन्धित सूचना तथा जानकारीका लागि आयोगमा कल सेन्टर सञ्चालनमा रहेको र केही संवेदनशील मतदान स्थललाई अत्याधुनिक प्रविधिको प्रयोग गरी आयोगबाट सोझै अनुगमनको व्यवस्था मिलाइएको उनले बताए।

प्रथम चरणको निर्वाचन सफल बनाउनमा सञ्चारमाध्यमको अहम् भूमिका रहेकोमा प्रशंसा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले दोस्रो चरणको निर्वाचनमा पनि आयोगले सहयोगको अपेक्षा गरेको बताए। उनले निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई आग्रहसमेत गरे।