राजनीति

काँग्रेसबाट निर्बाचित मेयर घनश्याम गिरीले गरे चन्द्रागिरीलाई नमूना नगर बनाउने उद्घोष

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीले उपत्यका प्रवेशको मुख्य नाका थानकोट समेटिएको चन्द्रागिरीलाई नमुना नगरपालिका बनाउने अठोट गरेका छन् ।

सो नगरपालिका– १३ पुरानो नैकापस्थित सद्भावना नगर, टोल सुधार समितिद्वारा प्रमुख/उपप्रमुखलगायत वडा अध्यक्ष र सदस्यको सम्मानमा आज आयोजित कार्यक्रममा उनले भने– “उपत्यकाकै ठूलो नगरपालिका चन्द्रागिरी क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्धन कार्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिने छ ”।

पर्यटन विकासको लागि प्रचुर सम्भावना बोकेको चन्द्रगिरी र कंकाली डाँडामा पर्यटन पदमार्ग र होम स्टे निर्माणका साथै स्थानीय सडक सुधार, खानेपानी, ढलनिकास र फोहरमैला व्यवस्थापन गर्न दीर्घकालीन तथा अल्पकालीन कार्ययोजना तयार गरिने प्रमुख गिरीले प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख लिसा नकर्मीले संविधान कार्यान्वयन र लोकतन्त्रको विकासमा जनप्रतिनिधिबीच एउटै मत हुन आवश्यक रहेको धारणा व्यक्त गरे।

बामपन्थी नेता मोहनचन्द्र अधिकारीले शोषित, पीडित मजदुर र किसानको हक हितका लागि जनप्रतिनिधिले काम गर्न सक्नुपर्छ भनेका छन् ।
वडा नं– १३ का वडा अध्यक्ष बालमुकुन्द विडारीले वडामा रहेको पर्यटन विकासको सम्भावना र खानेपानी, सडक र ढल व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने दृढता जनाए ।

टोलसुधार समितिका अध्यक्ष जङ्गबहादुर आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य दीपक पनेरु र सारदा पाण्डेले नवनिर्वाचित जनप्रतिनिधिको कार्यकालको सफलताको कामना गरे।

उक्त वडाबाट सदस्यमा ईश्वरी दङ्गाल, रामकुमार भण्डारी, मैया नेपाली र राजकुमार बोगटी निर्वाचित भएका थिए ।