विशेष

सुवेदीलाई लाग्यो गम्भीर आरोप, समानान्तर मुख्यसचिव घोषणा गर्ने उपसचिव पोख्रेलको चेतावनी !

काठमाण्डौ । शैक्षिक जनशक्ति केन्द्रका उपनिर्देशक एवम् उपसचिव ईश्वरीप्रसाद पोख्रेलले एसईईको परीक्षाफल परिणाम अघिल्लो वर्षको भन्दा कमजोर आउनुमा सरकारी र गैरसरकारी क्षेत्र दुवै जिम्मेवार रहेको बताएका छन् । शनिबार सुर्यखबर डट कमसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् । यो परिणाम आउनुमा ग्रेड्रिङ प्रणालीलाई नयाँ ढंगले व्यवस्थापन गरिनसक्नुलाई पनि उपनिर्देशक पोख्रेलले दोष दिए ।

उनले भने, ‘एसईई परीक्षामा ८ सय पूर्णांकमा विद्यार्थीले परीक्षा दिन्छन्, फेल र पास भन्दा पनि यसलाई ग्रेडिङ प्रणालीमा हामीले परिणत गरेका छौ, अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका लागि यो नियम ठिक भएपनि यसले अंकलाई लुकाईदयो ।

अंकले कुनै पनि विद्यार्थीको स्पष्ट क्षमता मुल्यांकन हुन्थ्यो भने ए देखि डी ग्रेडिङले यसैलाई अस्तव्यस्त बनाइदियो ।’ यो प्रणालीले झन् जगैबाट कमजोरी भएको स्पष्ट पारे ।  उपसचिव पोख्रेलले शिक्षामा व्यापारिकण गर्नेहरुका लागि भने ग्रेडिङ प्रणालीले मिनिमाइज गरिदिएको उल्लेख गरे ।

सुरु देखिनै ग्रेडिङ प्रणाली लागू गरेर शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेका निजी क्षेत्रलाई भने सरकारले समेत यो प्रणालीले लागू गरेर उनीहरुसँग प्रतिष्पर्धा गरिरहेको देखिएकोले यो देष्टिकोणबाट हेर्दा ग्रेडिङ प्रणालीबाट केही आशा गर्न सक्ने उनले स्पष्ट पारे । शिक्षा भन्ने कुरा कुनै नीजि र सार्वजनिक कुरा नहुने बताउँदै उनले सार्वजनिक क्षेत्रमा काम गर्नेदेखि सर्वाधारणका छोराछोरीले समेत एउटै विद्यालयमा पढ्ने वातावरण तयार गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘नेपालमा त अहिले प्रधानमन्त्रीका छोरा विदेशमा पढ्ने सुनिन्छ, पहुँचवाला र उच्च वर्गका छोराछोरी विदेशमा पढ्ने अनि यहाँ सामुदायिक विद्यालय व्यवस्थापन गर्ने कुरा गरेर मात्र कसरी हुन्छ सही व्यवस्थापन ?’ पोख्रेलले उच्च वर्गका छोराछोरी कार चढेर विद्यालय जाने र परीक्षफल समेत पैसामा खरिद गर्ने नराम्रो संस्कृतिको सुरुवात भएकोले सामुदायिक विद्यालयलले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको आरोप लगाए ।

शैक्षिक जनशक्ति केन्द्रका उपनिर्देशक एवम् उपसचिव ईश्वरीप्रसाद पोख्रेल

उनले भने, ‘एउटा राम्रो परिवारको बालक कुनै विद्यालयमा पढिरहेको हुन्छ । परिवारले राम्रो पैसा तिरिरहेको हुन्छ तर बालक परीक्षामा फेल हुने स्थिति देखियो भने परिवारलेनै आफ्नो इज्जत जाने डर भयो भन्दै जसरी पनि पास गराइदिनुपर्यो भने त्यहीभित्र आर्थिक चलखेल हुने गरेको छ । विद्यालयले सोही विद्यार्थीका लागि बीच बीचमा परीक्षा लिएजस्तो गर्ने थप शुल्क लिने गरेको समेत पाइएको छ । यो प्रवृत्तिले त्यो बालकका लागि गूणात्मक शिक्षा होइन, व्यापार गरेको ठहरिन्छ ।’

मुलुकको सार्वजनिक प्रशासनसँग जोडिएको अर्को फरक प्रसंग उल्लेख गर्दै उपनिर्देशक पोख्रेलले मुलुकको प्रशासनिक संयन्त्रनै अस्तव्यस्त ढंगले अघि बढिरहेको आरोप लगाए । पोख्रेलले भने, ‘मैले केही वर्षअघि लेखेको आफ्नै पुस्तकमा पनि यो कुरा उल्लेख गरिसकेको छु, त्यहाँका निकै धेरै कमजोरी उक्त पुस्तकमा उल्लेख गरिसकेको छु, तर अहिले आएका मुख्य सचिवले पनि राम्रो काम गरेको पाइदैन ।’

पोख्रेलले मुख्य सचिव सोमलाल सुवेदीको कमजोरी पुरस्कार वितरणमा समेत छर्लङ देखिएको आरोप लगाउँदै उनले पुराना र नयाँ उपसचिवहरुलाई व्यवस्थापन गर्ने नाममा प्राविधिक क्षेत्रका कर्मचारीहरुमाथि निकै ठूलो अन्याय गरेको आरोप समेत लगाए । उपनिर्देशक पोख्रेलले अहिले सार्वजनिक प्रशासनको उच्च तहमा तिउन चखुवाहरु बढी हावी भएको समेत आरोप लगाए ।

मुख्य सचिवकै निर्देशनमा प्राविधिकतर्फका योग्य उपसचिवहरुलाई समेत अनावश्यक ढंगले घोक्रेठ्याक लगाउने काम भएको भन्दै उनले आफुले सिधै मुख्य सचिवलाई यसो नगर्न अनुरोध गर्दा समेत सुनुवाई नभएको आरोप लगाए । उनले भने, ‘मुख्य सचिवले प्राविधिकतर्फका कर्मचारीहरुलाई गम्भीर विभेद गरेका छन्, उस्तै पर्यो भने हामीले प्राविधिक तर्फको मुख्यसचिव पदनै खडा गरेर समानान्तर प्रशासनिक संरचना बनाउने तयारी गर्न वाध्य हुनेछौ भन्दै उनलाई चेतावनी दिएका छौ, हेरौं अब हाम्रो कुरा कतिको सुनुवाई हुँदो रहेछ ।’