खेलकुद

अब कहाँ जालान् रोनाल्डो ?

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसैकारण उनले क्लब छोड्न चाहेको उनका नजिकका साथीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यम खबर आएका छन् ।

स्पेनिस कानूनी अधिकारीले रोनाल्डोमाथि लाखौं युरो बराबरको कर छली गरेको आरोप दर्ता गरेका छन् । तर रोनाल्डोले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र आफूले केही गलत नगरेको बताउँदै आएका छन् ।

रोनाल्डो निकट स्रोतले भन्यो ‘रोनाल्डो आफूलाई इमानदार ठान्छन् र आफ्नो राम्रो चरित्र रहेकोमा उनी ठुक्क छन् ।’ रोनाल्डोलाई रियल मड्रिडबाट किन्न चाहनेले एक अर्ब युरो तिर्नु पर्छ । आफूमाथि लागेको आरोपले रोनाल्डो निकै दुःखी र उदास रहेको स्रोतले बताएको छ । रोनाल्डो निकट स्रोतले भन्यो ‘उनी स्पेनमा बस्न चाहँदैनन्, यो समयमा उनी क्लब छोड्न चाहन्छन् ।’ सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।

उनले यो सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोलाई चिनियाँ क्लबले धेरै रकम प्रस्ताव गर्न सक्ने तर उनका एजेन्टले भने पेरिस सेन्ट जर्मेन वा प्रिमियर लिग क्लब फर्किन सुझाव दिने खबरमा उल्लेख छ ।