समाचार

बदर हुने मतको संख्या घटाउन पुर्वाञ्चल यसरी भईरहेको छ सचेत

विराटनगर। स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने तरिका र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने काम भएको छ । यस जिल्लाको १७ वटा निकायमा १८ पटकसम्म नाटक मञ्चन गरिएको थियो ।

नाटक अघि करिब आधा घन्टासम्म नृत्य देखाएपछि मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराइएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराएका छन् ।
नृत्यप्रति जनतामा आकर्षण बढेकाले सुनसरीको १२ वटै निकायमा र झापाको तीन वटा निकायमा समेत नृत्यसहित नाटक मञ्चन गरिएको हो ।

सप्तरी र सिरहामा जेठ ३ गतेदेखि ८ गतेसम्म यसैगरी नाटक मञ्चन हुने सो कार्यालयका प्रमुख सञ्जेलले उल्लेख गरे । यसअघि संविधानसभाको निर्वाचनमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी मत बदर भएकाले ती जिल्लाहरुमा ध्यान केन्द्रित गरिएको बताइएको छ ।

प्रथम चरणको निर्वाचनमा काठमाडौँमै करिब १० प्रतिशत मत बदर भएको समाचार प्रसारित भइरहेकाले अव थप बढी सजगताका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख सञ्जेलले जानकारी गराए ।

विराटनगरमा चुनावी प्रतिस्पर्धा

यसैगरी मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएपछि मोरङमा चुनावी सरगर्मी व्यापक बढेको छ ।

मोरङका एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले प्रायः सबै पदमा उम्मेदवारको टुङ्गो लगाएर प्रचारप्रसारमा तीव्रता दिएपछि चुनावी सरगर्मी बढेको हो ।
प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुका रुपमा मानिएका विराटनगर महानगरपालिमा नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टीले प्रमुख पदका उम्मेदवारका साथै अन्य पदमा पनि उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् ।

नेपाली काँग्रेसबाट प्रमुखमा भीम पराजुली, उपप्रमुखमा इन्दिरा कार्की, नेकपा (एमाले)बाट प्रमुखमा विनोद ढकाल र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छैन ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट प्रमुखरमा भोगेन्द्र यादव र उपप्रमुखमा नमीता न्योपाने, सङ्घीय समाजवादी फोरमबाट प्रमुखमा उमेश यादव र उपप्रमुखमा विभा दास तथा राप्रपाबाट प्रमुखमा प्रह्लाद साहलगायत चुनावी मैदानमा उत्रेका छन् ।

विराटनगर महानगरपालिकामा मुख्य राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारले प्रमुख पदमा विजयी भएका थिए । यस नगरलाई काँग्रेसगढको रुपमा पनि मानिएको छ ।

कुल एक लाख १४ हजार मतदाता रहेको विराटनगरमा मुख्य चार– दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेश नं– १ को राजधानी विराटनगर बनाउने प्रतिबद्धता सबै राजनीतिक दलका उम्मेदवारले गरिरहेका छन् । विराटगरको मुख्य तथा सहायक सडकको निर्माण, अव्यवस्थित नालालाई व्यवस्थित बनाउने, नयाँ नाला निर्माणलगायतका माग सर्वसाधारण मतदाताले उम्मेदवारसमक्ष राख्ने गरेका छन् ।