समाचार

असार १५ गतेभित्र बिपी राजमार्ग सञ्चालनमा आइसक्ने

काठमाण्डौ । सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ । गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बिपी राजमार्ग आयोजनाले जानकारी दिएको छ ।

भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले नयाँ पत्रिकालाई जानकारी दिए । ‘अब भित्तामा पर्खाल निर्माण गर्ने र सडक कालोपत्रे गर्ने काम मात्र बाँकी छ,’ उनले भने ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, हाल पहिरो गएको स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी आवतजावत भइरहेको छ । नियमित सडक अवरुद्ध भएपछि पूर्वी तराई तथा मध्यपहाडी जिल्ला आवतजावत गर्न असहज रहेको छ । यस राजमार्ग हुँदै दैनिक ५ हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

गत चैतमा आयोजनाले असारअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक सञ्चालनमा ल्याउने जानकारी दिएको थियो । ‘तर, काम गर्दै जाँदा १५ दिन ढिला भएको छ,’ निमित्त प्रमुख महर्जनले भने । आयोजनाले गत चैतभित्र नै भत्किएको ठाउँको सडक मर्मत तथा निर्माण गर्न निर्माण व्यवसायी छनोट गरी वैशाखदेखि निर्माण थालेको थियो ।

सामान्यता ३५ दिनको अवधि राखेर बोलपत्र आह्वान गर्नुपर्ने भए पनि छोटो बाटो अपनाएर आयोजनाले १५ दिनभित्र निर्माण सम्पन्न गर्न व्यवसायी छनोट गरेको थियो । ‘वर्षा सुरु हुनुअघि नै काम सम्पन्न नभएमा झन् समस्या बढ्न सक्ने भएकाले निर्माणलाई तीव्र गति दिइएको छ,’ निमित्त आयोजना प्रमुख महर्जनले भने ।

पुनर्निर्माण तथा मर्मतमा ३ करोड खर्च
आयोजना कार्यालयका अनुसार भत्किएको ठाउँमा करिब १ सय मिटर सडक पुनर्निर्माण तथा मर्मत भइरहेको छ । पुनर्निर्माण तथा मर्मत गर्न ३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, आयोजना कार्यालयका अनुसार लागत अनुमानभन्दा कम रकममै तोकिएको निर्माण कार्य सम्पन्न हुने भएको छ ।

बाँकी रहेको रकम भने बिपी राजमार्गकै खहरे र चैनपुर खण्ड मर्मत गर्न खर्च गरिनेछ । ‘यी दुई ठाउँमा पनि सडक भत्किन सक्ने सम्भावना उच्च रहेकाले मर्मत गरिनेछ,’ निमित्त प्रमुख महर्जनले भने ।

२२ ठाउँ भत्किने जोखिममा
१ सय ६० किलोमिटर लामो बिपी राजमार्गअन्तर्गत थप २२ ठाउँमा सडक भत्कने उच्च जोखिम रहेको अध्ययनले देखाएको छ । जापानबाट आएको टोलीले गरेको सडकको पूर्ण परीक्षणले यस्तो देखाएको हो । पहिचान भएका ठाउँमध्ये १४ लाई उच्च जोखिम र ८ जोखिमयुक्त भनिएको छ । ती ठाउँमा समयमै मर्मत र निर्माण नगर्ने हो भने त्यसले दुर्घटना निम्त्याउन सक्ने महर्जनको भनाइ छ । न्यून जोखिमयुक्त ८ ठाउँको मर्मत नेपाल सरकारले नै गर्ने तयारी गरिरहेको छ ।