राजनीति

चारवटै क्षेत्र काँग्रेसले जितेको कञ्चनपुरमा यस्तो छ निर्बाचनको प्रतिस्पर्धा

भीमदत्तनगर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भीमदत्तनगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ ।

गत संविधानसभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भए पनि स्थानीय तहको निर्वाचनमा भने सहजै जित हासिल गर्न काँग्रेसलाई सहज छैन । अग्रस्थानमा जिल्लाभरका उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको नेकपा (एमाले) र सबैभन्दा ढिलो गरी उम्मेदवार टुङ्गो लगाएको काँग्रेसबीच यहाँका कतिपय नगरपालिकामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि सङ्गठन कमजोर भएका कारण निर्वाचन आफ्नो पक्षमा पार्न निकै सकस छ ।

प्रमुख राजनीतिक दलले यहाँको जेठो भीमदत्त नगरपालिकाको प्रमुखको लडाइँलाई आफ्नो अस्तित्वको लडाँई सम्झिएका छन् । नेपाली काँग्रेसबाट भीमदत्तको प्रमुख पदमा नेपाली काँग्रेसबाट पदम बोगटीलाई उम्मेदवार बनाइएको छ । अघिल्लो वर्ष काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पराजित बोगटी दशकौँदेखि सक्रिय राजनीतिको पर्दामा देखिँदै आएका उम्मेदवार हुन् ।

त्यसैगरी, नेकपा (एमाले)बाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन् । सङ्गठनभित्र राम्रो पकड भएका विष्ट भीमदत्तनगरवासीसामु कति लोकप्रिय बन्छन्, त्यो निर्वाचनको परिणामले देखाउनेछ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ । माओवादी खुल्ला राजनीतिमा आएसँगै रसायली जिल्लामा पार्टीका सक्रिय नेताका रुपमा परिचित छन् । क्षेत्रीय राजनीतिको समेत प्रभाव रहने कञ्चनपुरमा रसायली पनि भेगीय मत पाउनेमा आशावादी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीमा नवप्रदेशी गजेन्द्रबहादुर चन्द भीमदत्तनगरपालिकाको प्रमुख पदको उम्मेदवार भएयता दिनरात घरदैलोलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका चन्द भीमदत्तमा युवापुस्तामाझ बढी परिचित छन् ।

चुनावी सरगर्मी सुरु हुँदाताका चन्दले नेपाली काँग्रेस र एमाले लगायतका दलको मत काट्ने चर्चा गरिएपनि पछिल्ला दिनमा उहाँको पकड पनि बढ्दै गइरहेको छ । सङ्गठन कमजोर भएकाले उहाँलाई पनि निर्वाचनमा विजयी हुन त्यति सहज भने छैन । त्यसकारण हालसम्मको चुनावी सरगर्मी हेर्दा भीमदत्तनगरपालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रमुख पदमा प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

त्यसैगरी, महाकाली नगरपालिकामा नेपाली काँग्रेसको सङ्गठन बलियो मानिन्छ । तर पनि त्यहाँ प्रमुख राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीय नेताको भनाइ छ । यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा पनि प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

टिकट वितरणमा गरेको ढिलाइका कारण काँग्रेसभित्र केही असहज महसुस भएको छ भने पहिलो चरणको निर्वाचनको मतपरिणामको निरन्तरता नै कञ्चनपुरमा दोहोरिनेमा नेकपा (एमाले) आशावादी छ । माओवादी केन्द्रमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी आउने क्रम बढेसँगै चुनावी घरदैलोलाई तीव्र बनाएपछि माओवादी पनि केही नगर र गाउँपालिकामा जित हासिल गर्ने दाबी गर्दैछ ।

ससुरा–ज्वाइँ चुनावी मैदानमा

कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच कडा प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । भारतीय सेनाबाट अवकाश पाएपछि सक्रिय राजनीतिमा लागेका चन्द हाल काँग्रेसका वडा सभापति पनि हुन् ।

फरक पार्टी भएकाले उनले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको बताए । दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा नेकपा (एमाले)ले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । नेकपा (माओवादी केन्द्र)बाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन् ।

“मलाई छोरी आएर चुनावमा नलड्न सुझाएकी थिइन्,” अध्यक्ष पदको उम्मेदवार गजेन्द्र चन्दले भने, “मैले यो पार्टीगत कुरो हो भनेर इन्कार गरेँ ।” उनले आफूले ज्वाइँलाई प्रतिस्पर्धाबाट पछि हट्न हालसम्म आग्रह नगरेको बताए ।

“ज्वाइँ–ससुरालाई एउटै पदमा प्रतिस्पर्धा नगर्न हामीले सम्झायौँ”, हल्दुखालका स्थानीय तथा हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले भने, “तर सहमतिमा ल्याउन सकेका छैनौँ ।” रासस