समाचार

भोजपुर नगरपालिकामा काँग्रेस उम्मेदवार टुंगो लगायो

भोजपुर । आन्तरिक विवादका कारण लामो समयपछि मङ्गलबार भोजपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टिकट विवाद टुङ्गिएको छ ।

नेपाली काँग्रेसले मङ्गलबार बिहान जिल्ला पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेको हो । काँग्रेसको केन्द्रीय उम्मेदवारी विवाद समाधान समितिको बैठकले भोजपुर जिल्ला पार्टी समितिले गरेको निर्णयलाई वैधानिकता दिएको जिल्ला पार्टी कोषाध्यक्ष सफल किराँतीले जानकारी दिए ।

जिल्ला पार्टीले यसअघि नै पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेपनि पूर्व जिल्ला पार्टी सभापति बालकृष्ण थापाले टिकटको दाबी गरेपछि विवाद भएको थियो ।

आलेले प्रमुखको टिकट पाएपछि जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताको घुइँचो लागेको छ । टिकट विवादका कारण चुनावी अभियान केही दिनदेखि सेलाए पनि अब द्रुतगतिमा अगाडि बढ्ने कोषाध्यक्ष किराँतीले बताए ।