प्रवास

नगरप्रमुख शाक्य र घलेबीच सहरी व्यवस्थापनबारे छलफल

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ ।

सोमबार भएको भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौँको समृद्धिका लागि लगानी गर्ने हो भने लगानीमैत्री नीति निर्माण सकिने बताउनुभएको छ ।

नेपालको राजधानी सहर काठमाडौँको व्यवस्थापनका लागि व्यावसायिक सहभागिता मात्र होइन सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिन्छ, प्रमुख शाक्यले बताउनुभयो ।

काठमाडौँमा सम्पन्नता मात्र छ, यहाँ हुने मान्छे मात्र छन् भनेर सोच्नु हुँदैन, सहरभित्रै पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिकरुपमा उत्थान गर्नुपर्ने मानिस पनि छन्, भेटका क्रममा प्रमुख शाक्यको भनाइ थियो ।

“नेपालबाट विदेश पुगेका धेरै नेपालीले २०७२ सालको भूकम्पपछि आफ्नो भूमिलाई सम्झिएका छन् । धेरै लगानी पठाएका पनि छन् । यसरी केही गर्छु भन्नेलाई वातावरण दिनुप¥यो”, सोमबार भएको भेटका क्रममा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भन्नुभयो ।

आफूले काठमाडौँको समृद्धिका लागि देखिने काम गरिरहेको बताउँदै घलेले भन्नुभयो– यस प्रकारका ठूला परियोजना सञ्चालन गर्नेका लागि छुट्टै नीतिगत व्यवस्था गरिदिनु पर्छ । लागत, सहभागिता, गुणस्तरलगायतका पक्षबाट साना लगानीका परियोजना र ठूला लगानीका परियोजना छुट्टै हुन् ।

भेटकाक्रममा प्रमुख शाक्य र अध्यक्ष घलेबीच सहरी सुविधा तथा सहरी व्यवस्थापनमा सम्भावित लगानीका विषयमा कुराकानी भएको थियो । रासस