पु.समाचार

राजपाले गर्यो चुनाव भाँड्ने उद्धेश्यसहित आन्दोलनको घोषणा

जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालले दोश्रो चरणको निर्वाचन बिथोल्ने गरी आमहड्ताल सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले आफुहरूको माग सम्बोधन नगरेको भन्दै राजपाले आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । राजधानीको विजुली बजारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि राजपाले सरकारसंग पटक पटक वार्ता गरेपनि मधेशको माग पुरा गर्न तदारूकता नदेखाएकाले आन्दोलनमा जानुको विकल्प नभएको जनाएको छ ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, संविधान संशोधन, व्यवहारिक रुपमा मिलाउनुपर्ने कुरा र जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या बढाउने विषय मिलाएमा आफूहरु चुनावमा जाने वातावरण बन्ने बताइरहदा समेत सरकारले राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन गरी मुद्दालाई छायाँमा पारेको राजपाको आरोप छ ।

घोषित आन्दोलनका कार्यक्रममा मसाल जुलुस तथा लाठी जुलुस निकाल्ने, असार ६ देखि १४ गते सम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रम अवरूद्ध गर्नेदेखि अनिश्चितकालिन आम हडताल गर्ने उल्लेख छ । असार १४ गते निर्धारित चुनावलाई नै लक्षित गरी १० गतेबाटै आमहड्ताल गर्ने निर्णय गरिएको राजपा नेता राजेन्द्र महतोले बताए ।

महतोले सरकारसँगको वार्ताको औचित्य सकिएको जिकिर समेत गरे । राजपाबिना तराईमा चुनाव हुन नसक्ने ठोकुवा गर्दै उनले जबरजस्ती गरेमा ठूलो क्षति पुग्ने चेतावनी दिए ।