राजनीति

एउटै घरबाट २ जनालाई वडा अध्यक्षको टिकट !

कैलाली । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले दोश्रो संविधानसभा निर्वाचनमा चुनाव लडेको कैलालीको क्षेत्र नं.६ अन्तर्गत पर्ने धनगढी उपमहानरपालिकामा उम्मेद्वारी चयनको विषयमा अझै असन्तुष्टि रहेको भेटिएको छ । सो उपमहागनरभित्र भखैरै कांग्रेसले उम्मेद्वारहरुको टुंगो लगाएको दाबी गरेपनि केही वडाहरुमा भने चर्को असन्तुष्टि कायमै रहेको देखिएको हो ।

धनगढी उपमहानरभित्रकै वडानं.३ मा भने अझै उम्मेद्वारको विषयमा असन्तुष्टि रहेको स्थानीय नेता कार्यकर्ता बताउँछन् । सन्तुष्टिको विषयसँगै जोडिएर सोही वडामा एउटा अनौठो राजनीतिक दृष्य समेत देखिएको छ । कांग्रेसले वडा अध्यक्षको उम्मेद्वारको टिकट दिएका भनिएका राजबहादुर ऐरको एउटै घरका ३ जना सदस्यहरु भिन्न भिन्न पार्टीमा रहेको र उनीहरुले सबै पार्टीबाट चुनावमा टिकट हत्याउने दुष्प्रयास गरिरहेको स्थानीय कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।

३ वर्षअघि माओवादीबाट कांग्रेस प्रवेश गरेका राजबहादुरका भाई बलबहादुर ऐरले माओवादीको तर्फबाट वडा अध्यक्षको टिकट पाएका छन् भने उनीहरुका पिता एमालेको संगठित सदस्य भएको बताइएको छ । एउटै परिवारका सदस्य ३ पार्टीमा रहेको र राजबहादुर केही वर्ष अघिमात्र कांग्रेस प्रवेश गरेका व्यक्ति भएकोले उनलाई टिकट दिएर लामो समय पार्टीमा खटेका कार्यकर्ताको उपेक्षा गरेको स्थानीय कांग्रेस नेता कार्यकर्ताको भनाई छ ।