राजनीति

विराटनगर महानगरमा यसरी हुँदैछ कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, कसको पक्षमा जाला जनमत, देखियो यस्तो संकेत !

विराटनगर । पूर्वको प्रभावशाली नगर विराटनगर महानगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेद्वार तय गरेको छ । सो महानगरको मेयरमा एमालेले विनोद ढकाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयरको टुंगो भने लगाएको छैन । एमाले स्थायी समिति बैठकको शनिबार बसेको बैठकले पूर्वकै अन्य प्रभावशाली नगरहरुमा समेत मयर र उपमेयर टुंगो लगाएको छ ।

विराटनगर महानरगसँगै धरान र इटहरी उपमहाननगपालिकाको उम्मेद्वारी समेत एमालेले टुंग्याएको छ । धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीको नाम तय गरिएको छ । त्यस्तै, इटहरीको मेयरमा द्वारिकालाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमलाई उठाउने निर्णय गरेको छ ।

उता,नेपाली कांग्रेसले भने विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाउन सकेको छैन । कांग्रेसले धरान र इटहरी उपमहानगरपालिकाको मेयरको टुंगो भने लगाइसकेको छ ।  कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरमा तिलक राई र इटहरी उपमहानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उठाउने निर्णय गरेको छ ।

कांग्रेसले विराटनगर महानगरमा नेतृ डा.डिला संग्रौला, विश्वनाथ रिजाल, अमृत अर्याल र भीम पराजुलीमध्येबाट उम्मेद्वार तय गर्ने तयारी गरेको छ ।  डा.संग्रौला कांग्रेसभित्र लामो समय राजनीतिक यात्रा तय गरेकी नेतृ हुन् भने अमृत अर्याल दोश्रो संविधानसभा चुनावमा मोरङ क्षेत्र नं. ५ बाट चुनाव जितेका सांसद हुन् ।

त्यस्तै,विश्वनाथ रिजाल विराटनगरका पुराना राजनीतिज्ञ हुन्, जसले कांग्रेस नेता महेश आचार्यसँगै राजनीतिक यात्राको सुरुवात गरेको बताइन्छ । त्यस्तै, भीम पराजुली विराटनगरको शिक्षा क्षेत्रमा राम्रो योगदान दिने व्यक्तित्व हुन् । यी सबै नेताहरुमध्येबाट कांग्रेसले उम्मेद्वार छनौट गर्ने तयारी गरिरहेको छ ।

नेपाली कांग्रेसको राजनीतिक इतिहाससँग जोडिएको कोइराला परिवारको विरासतसँग समेत जोडिएको विराटनगरमा कसले टिकट पाउँछ, त्यो आधारमा राजनीतिक प्रतिस्पर्धा हुने देखिएको छ । बीस वर्षपछि आएको यो निर्वाचनमा कांग्रेस र एमालेबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको विराटनगरमा २०५४ सालको निर्वाचनमा भने एमालेले जित हासिल गरे पनि यो पटक भने निकै कडा प्रतिस्पर्धा हुन सक्ने स्थानीय नेता कार्यकर्ता बताउँछन् । किनभने सोही क्षेत्रबाट दोश्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु शेखर कोइराला, महेश आचार्य,  अमृत अर्यालले चुनाव जितेका थिए ।

२०६४ सालको संविधानसभा चुनावमा पनि यी नेताहरुले सोही क्षेत्रबाट चुनाव जितेका थिए । ३ वटा निर्वाचन क्षेत्र मिलेर बनेको विराटनगरको यो राजनीतिक परिदृष्यबाट के पुष्टि हुन्छ भने यो पटकको निर्वाचनमा पनि कांग्रेसले आफ्नो पक्षमा जनमत ल्याउने देखिन्छ । यद्यपि, चुनावी परिणामको विषयमा पार्टीको आन्तारिक र बाहिरी समिकरणले पनि प्रभाव पार्ने भएकोले अहिले नै निश्चित गर्न नसकिने स्थानीय नेता कार्यकर्ताहरुको भनाई छ ।

दोश्रो संविधानसभा निर्वाचनको आधारलाई कांग्रेसले कसरी व्यवस्थापन गरेको छ त्यो आधारमा उसले आधारमा यो चुनावको परिणाम आउन सक्ने समेत धेरैको आंकलन छ । यद्यपि,नेकपा एमालेका अतिरिक्त माओवादी र मधेसवादी दलहरु समेत चुनावी प्रतिस्पर्धामा भएकोले कांग्रेसलाई ठूलो चूनौती हुन सक्ने आंकलन गरिन्छ ।