पु.समाचार

यसकारण मधेसबाटै सकिदैछ राष्ट्रिय जनता पार्टी !

काठमाडौं । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् ।

योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट समेत औपचारिक रुपमा अलग हुन्छ ।

आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ दल मिलेर बनेको राजपा निर्वाचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रुपमा कित्ताकाट हुनेछ । अहिलेसम्मको विवाद काठमाडौं र मधेसको भन्ने थियो, अब मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या थप जटिल बन्ने विश्लेषक तुलानारायण साहको मत छ ।

अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट ५ वर्षसम्म पूर्णतः अलग हुनु हो । त्यस्तै, स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । यसले दीर्घकालीन तनाव निम्त्याउने देखिन्छ ।

निर्वाचनमा सहभागी हुने विषयमा भएको अलमलले राजपाका जिल्ला र स्थानीय तहका नेताले पार्टी छाड्न थालेका छन् । स्थानीयस्तरका नेताहरु राजपा छाडेर उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । यसले राजपालाई थप घाटा हुने छ ।