आर्थिक

यसरी जडिबुटीबाटै करोडौ आम्दानी गर्दैछ डोल्पा जिल्ला

डोल्पा । जडिबुटीको भण्डार मानिने डोल्पाबाट चालू आर्थिक वर्षको अहिलेसम्म जिल्ला वन कार्यालयले ४५ लाख ९५ हजार राजस्व संकलन गरेको छ भने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ५० लाख राजस्व जडिबुटीबाट उठेको छ । जिल्ला वन कार्यालय र निकुञ्जले जडिबुटीबाट राजश्व उठ्ने कार्य जारी रहेको जनाएका छन् । उनीहरुका अनुसार यार्चाकुन्भुको समय भर्खर सुरु भएको र सबै क्षेत्रबाट पुरै विवरण प्राप्त भै नसकेकाले राजस्वको रकम बढ्न सक्छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, जिल्ला वन कार्यालय डोल्पा अन्तर्गत यार्चाकुन्भुबाट ३२ लाख ८० हजार, जटामसीबाट ८ लाख, सुगन्धवालबाट ६७ हजार, विष जराबाट १७ हजार ५ सय, अतिसबाट ८ हजार ८ सय, पदमचालबाट ५३ हजार, डालेचुकबाट २ सय ५०, कुटकीबाट ८३ हजार ७ सय, चिराइतोबाट ५ हजार २ सय, बोजोबाट २ हजार ५ सय, कालादानाबाट १ हजार २ सय, वन लसुनबाट १४ हजार ४ सय, सिलाजितबाट ९० हजार, गुच्ची च्याउबाट ४५ हजार, पासन वेदबाट १ लाख १० हजार र अरु विभिन्न जडिबुटीहरुबाट समेत गरेर जम्मा ४५ खाल ९५ हजार आम्दानी भएको जिल्ला वन कार्यालय डोल्पाका दिपक खत्रीले बताए ।

त्यसैगरी, शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड डोल्पाअन्तर्गत यो आर्थिक वर्ष भित्र यार्चाकुन्भु संकलन गर्न जाने संकलकहरुलाई प्रवेश पत्र दिए वापतको शुल्क ३९ लाख ३६ हजार १ सय र यार्चाकुन्भुको छुट पुर्जी वापतको राजश्व १० लाख २ हजार ५ सय गरी जम्मा ४९ लाख ३८ हजार ६ सय राजस्व उठेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

जिल्ला वन कार्यालय डोल्पा र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा दुबैबाट गरेर विभिन्न जडिबुटीको राजस्व यो आर्थिक वर्ष हालसम्म सन्तोषजनक नभएको जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ । उसका अनुसार यो वर्ष यार्चाकुन्भु खरिद तथा बिक्रिका लागि संकलन र छुटपुर्जीका लागि निवेदन समेत कम परेका छन् ।

निकुञ्ज भित्र पनि सबै ठाउँबाट काटिएका प्रवेश पत्रको शुल्क र विवरण पुरै प्राप्त नभएकाले यकिन तथ्याङ्क आउन समय लाग्ने छ । यो वर्ष पनि यार्चाकुन्भु संकलन गर्न आउँनेहरुको संख्या घटेको अनुमान गरिएको छ । यसले पनि राजश्व संकलनमा कमी आउने अनुमान निकुञ्जले गरेको छ ।