पु.समाचार

प्रदेश नं.५ मा यस्तो छ कांग्रेस र एमालेको प्रतिस्पर्धा, कसको पक्षमा जाला जनमत ? देखियो यस्तो संकेत !

नेपालगञ्ज । एकै चरणमा निर्वाचन हुनेगरी बैशाख ३१ गतेलाई तोकिएको चुनाव तीन पटक सरिसकेको छ । सुरुमै उम्मेदवारी घोषणा गरेर मैदानमा उत्रिएका आकांक्षीहरु घरदैलोले थाक्ने बेला भईसकेको छ । तर, प्रदेश ५ का गाउ‘सहरमा चुनाव टाढिए पनि माहोल सेलाएको छैन । पहिलो चरणको चुनावका परिणामहरुले केही दिन सुस्ताएको चुनावी सरगर्मी अहिले ह्वात्तै बढेको छ । उम्मेदवारहरुको मतदाता भेटघाट र कोणसभाहरुमा व्यस्त छन् ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, चार उपमहानगरपालिका बाहेक एमालेको प्रदेश कमिटीले अधिकांश तहका उम्मेदवार पहिलो चरण अगावै टुंग्याएको थियो । कॉग्रेसले अझै अधिकांश तहको उम्मेदवारी घोषणा गरिसकेको छैन । टिकट टुंगो नलागे पनि आश्वासन पाएका आकांक्षीहरुले घरदैलो गरिरहेका छन् । ‘उम्मेदवारीको निर्णय नहुदै हामीले चुनावी अभियान र घरदैलो चलाईरहेकै थियौ’ नेपालगन्ज उपमहानगरपालिकामा कॉग्रेसकी उपमेयर उम्मेदवार उमा थापामगर भन्छिन्–उम्मेदवारी टुंगो लागेपछि चुनावी प्रचारप्रसारले तिब्रता पाउछ ।

दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ स्थानीय तहमध्ये १ सय ९ तह प्रदेश ५ मा पर्छन् । तीमध्ये ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउपालिका छन् । असार १४ गतेको चुनावमा २४ लाख ५८ हजार ४ सय ४१ मतदाताले भोट खसाल्दैछन् । सबैभन्दा धेरै ४ लाख ६२ हजार ५ सय ४६ मतदाता रहेको रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउ‘पालिका छन् । त्यस्तै, नवलपरासीका ३ नगरपालिका र ४ गाउ‘पालिका तथा रुकुमका ३ गाउ‘पालिका पनि यसै प्रदेशमा छन् ।

रुकुम र नवलपरासीका आधा भूभागसहित १२ जिल्ला समेटिएको प्रदेश ५ मा कॉग्रेस, एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्प्रर्धा देखिन्छ । रुपन्देही, कपिलबस्तु र बॉकेका झण्डै दर्जन धेरै स्थानीय तहमा राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक र संघिय समाजवादी पार्टी समेत प्रतिस्प्रर्धामा छन् भने सिद्धार्थनगर नगरपालिका भैरहवा र नेपालगन्ज उप महानगरपालिकामा राप्रपाले पनि आफ्नो प्रभाव देखाउन खोजेको छ । प्युठानमा राष्ट्रिय जनमोर्चाको पनि राम्रै जनमत छ । बर्दिया, रोल्पा, गुल्मी, दाङ, रुकुम र बॉकेमा मुख्य तीन दलबीच त्रिकोणात्मक प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।

लुम्बिनी र राप्तीका पहाडी तहमा प्रदेश ५ को विभाजन प्रयास र आफ्नो अगुवाईमा भएको आन्दोलनलाई एमालेले मुख्य चुनावी नारा बनाएको छ । प्रदेश सिंमाकन हेरफेरमा सत्तारुढ कॉग्रेस र माओवादी केन्द्रको केन्द्रीय नेतृत्वको आलोचना भईरहदा स्थानीय नेतृत्वले भने बचाउ गरिरहेको छ । कॉग्रेस नेताहरु चन्द्र भण्डारी र अमर पुन तथा माओवादी केन्द्रका टोपबहादुर रायमाझीसमेत उक्त संशोधनको बिरोधमा उत्रिएका थिए ।

‘तराई पहाड छुट्याउने संशोधन प्रयास गलत थियो । पछि सच्याउन हाम्रै भूमिका निर्णायक रह्यो’ माओवादी नेता रायमाझी भन्छन्–‘सुरुमा यो कॉग्रेस एमालेकै एजेण्डा थियो । जनताको चाहना बुझेर एमाले आयो । अरुले बुझेनन् ।’ रुकुम, रोल्पा, बर्दिया, पाल्पा र अर्घाखॉचीमा आफ्नो पार्टीले धेरै स्थानीय तह जित्ने उनले दाबी गरे । पहिलो चरण चुनाव हुन्छ कि हुन्न भन्ने अन्यौल बिच भएकाले माओवादी कार्यकर्ता निष्क्रिय हु‘दा राम्रो परिणाम नआएको रायमाझी बताउ‘छन् । ‘पहिलो चुनावबाट पाठ सिक्दै अहिले सक्रियता बढेको छ । एक तिहाई तह जित्ने लक्ष्य छ’ उनी भन्छन् ।

प्रदेश ५ मा आधा नवलपरासीदेखि बर्दियासम्म तराईका ६ र पहाडका ६ जिल्ला पर्छन । जनसंख्या र क्षेत्रफलका दृष्टिले यो देशकै तेस्रो ठूलो प्रदेश हो । ०६८ को जनगणना अनुसार, यहॉ ४९ लाख १६ हजार ९ सय ७२ अर्थात १७ प्रतिशत जनसंख्या छ । खण्डित जिल्लाको जनसंख्या छाड्ने हो भने सबैभन्दा धेरै १५ दशमलव ३५ प्रतिशत मगर, त्यसको हाराहारीमा १५ दशमलव १५ प्रतिशत थारु, १४ दशमलव ५० क्षेत्री र १२ दशमलव ६८ प्रतिशत बाहुनको बसोबास छ । बर्दिया, बॉके र दाङमा थारुको उल्लेख्य बसोबास छ भने पाल्पा, रोल्पा, रुपन्देही, दाङ र प्युठानमा मगरको बाक्लो उपस्थिती छ । बर्दियामा जनसंख्याको आधाआधी थारु समुदायको बसोबास छ । त्यस्तै, पाल्पामा आधा जनसंख्या मगर समुदायको छ । बॉके र कपिलबस्तुमा अवधिभाषी र मुस्लिम समुदायको उल्लेख्य बसोबास छ ।

अहिले ४४ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश ५ मा पछिल्लो संविधानसभा निर्वाचन ०७० मा कॉग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो । कॉग्रेसले १७ स्थान जितेको थियो भने एमालेले १५ र एमाओवादीले ६ स्थानमा सफलता हासिल गरेका थिए । त्यस्तै, यो प्रदेशबाट मधेसकेन्द्रीत दल, स्वतन्त्र र राप्रपाका ४ सांसद छन् । एमालेले राप्ती र लुम्बिनीका पहाडी जिल्ला, नेपालगन्ज र बुटवल उपमहानगरपालिकासहित पूर्वपश्चिम राजमार्ग वरपरका मिश्रित बस्ती रहेका स्थानीय तह जित्ने आंकलन गरेको छ ।

एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरी प्रदेश ५ मा आफ्नो पार्टीले बहुमतसहित जित हासिल गर्ने दाबी गर्छन । लुम्बिनी पहाड, बुटवल, नवलपरासी, प्युठान, बॉके र बर्दियाका अधिकांश तह जित्ने दाबी गर्दै उनी भन्छन्–‘केही कमजोर दाङ हो । अन्यत्र राम्रो छ ।’ पहाड र तराई नछुट्याईएको प्रदेशका लागि एमालेले लिएको अडान र आन्दोलनको पक्षमा जनताले अभिमत व्यक्त गर्ने उनी बताउछन् ।

कॉग्रेस पनि पहिलो पार्टी बन्ने दौडमा छ । सिंचाई मन्त्री एवं कॉग्रेस केन्द्रीय सदस्य दीपक गिरी पहिलो चरणभन्दा दोस्रो चरण निर्वाचन नतिजामा कॉग्रेसले सुधार ल्याउने बताउ‘छन् । ‘अहिले टिकट टुंग्याउदैछौ’ उनी भन्छन्–‘अहिलेसम्म जे जति माहोल देखिएको छ, त्यो राम्रो छ ।’ कॉग्रेसले गुल्मी, अर्घाखॉची, रुपन्देही नवलपरासी, दाङ र बॉकेमा राम्रो नतिजा हात पार्ने आशा गरेको छ ।

संघिय समाजवादी फोरम र लोकतान्त्रिक फोरम चुनावी मैदानमा उत्रिईसकेका छन् भने राष्ट्रिय जनता पार्टी चुनावी वातावरण बने चुनावमा होमिनेगरी तयारी अबस्थामा छ । यी तीन मधेसकेन्द्रीत पार्टी रुपन्देही, कपिलबस्तु, नवलपरासी र बॉकेका झण्डै एक दर्जन स्थानीय तहमा मुख्य प्रतिस्प्रर्धामा छन् । ‘चुनावमा जॉदा प्रदेश ५ मा हाम्रो नराम्रो छैन । मधेसका जिल्लामा जित्छौ’ राजपाका नेता पशुपतिदयाल मिश्र भन्छन्–‘पहिले चुनावको वातावरण बन्नुपर्यो । अहिलेकै स्थितीमा चुनावमा भाग लिदैनौं ।’

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र बॉकेको नेपालगन्ज उपमहानगरपालिकामा मुख्य प्रतिस्प्रर्धामा देखिएको राप्रपालाई पहिलो चरणको परिणामले केही निरास बनाएको छ । तर, दुई महिनादेखि चुनावी मैदानमा रहेका धवलशम्सेर राणा विचलित छैनन । उनलाई टक्कर दिदैछन, उनकै उपमेयर एमाले उम्मेदवार सम्शुद्धिन सिद्धिकी ।

कॉग्रेसले पूर्वउपमेयर सुरेन्द्र हमाल वा डा.सुरेशकुमार कनौडियालाई उम्मेदवार बनाउनेछ । मधेसकेन्द्रीय दलहरु पनि मैदानमा उत्रिएपछि चुनावी खास आंकलन हुनेछ । ‘यस पटक निकै आशावादी छौ’ नेपालगन्जको मेयरमा राप्रपा उम्मेदवार राणा भन्छन्–माहोल यस्तै रहे जित्छौ । उनी गत संविधानसभा निर्वाचनमा कॉग्रेस सभापति सुशील काईरालासंग झण्डै १ हजार ८ सय मतले पछाडि परेका थिए ।