राजनीति

चुनावकै मुखमा पश्चिमबाट आयो प्रधानमन्त्री देउवाको टाउको दुखाउने खबर !

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले चुनाव लडेको निर्वाचन क्षेत्रभित्रका ३२ जना स्थानीय पार्टी कार्यकर्ताले चुनावकै मुखमा राजीनामा दिएका छन् । प्रधानमन्त्री देउवाले दोश्रो संविधानसभामा चुनाव लड्नुभएको साविक कैलाली क्षेत्र नं. ६, हाल धनगढी उपमहानरपालिका वडा नं. ३ का ३२ जना सक्रिय कार्यकर्ताले पार्टी जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिएका हुन् । चुनावमा टिकट बाँडफाँडको विषयमा असन्तुष्टी जनाउँदै उनीहरुले पार्टीसमक्ष राजीनामा दिएको स्थानीय नेताहरुले बताएका छन् ।

पार्टीको वडा समितिमा रहेका ४७ जना सदस्यहरुमध्ये ३२ जनाले राजीनामा दिएपछि कैलाली कांग्रेसभित्र हंगामा मच्चिएको छ । चुनावकै मुखमा त्यति धेरै सक्रिय कार्यकर्ताले किन राजीनामा दिए ? यसको भित्री रहस्य के हो ? प्रधानमन्त्री एवम् पार्टी सभापतिकै चुनाव क्षेत्रमा यस्तो हंगामा किन भयो ? यो सवालमा हामीले त्यहाँको भित्री रहस्य बुझ्ने कोसिस गरेका थियौ ।

वास्तवमा घटनाको भित्री रहस्य यस्तो छ । केही दिनअघि कांग्रेसले धनगढी उपमहानगर अन्तर्गतको ३ नम्बर वडामा उम्मेद्वार चयन गर्ने निर्णय गर्यो । त्यसका लागि पार्टी कार्यकर्ता राजबहादुर ऐरलाई छनोट गरेको निर्णय सार्वजनिक भयो । तर उनको नाममा टिकट आइनसके पनि पार्टीले गरेको निर्णयको विरुद्धमा सिंगो वाड समितिले एकैसाथ राजीनामा दियो । ४७ जनाको वाड समितिमा ३२ जनाले ऐरलाई वाड अध्यक्षको टिकट दिने निर्णय सार्वजनिक भएलगत्तै त्यसको विरोध गर्दै राजीनामा दिए । वास्तवमा राजबहादुर ऐरप्रति उनीहरुको गुनासो भने निकै अनौठो देखियो ।

राजबहादुर ३ वर्षअघि नेकपा माओवादीबाट कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेर संगठित सदस्यता नपाउँदै उनलाई टिकट दिएको भन्दै विशेषगरी रामचन्द्र पौडल पक्षीय समुहले विरोध गरेको स्थानीय नेता कार्यकर्ताको भनाई छ । राजबहादुरसँग जोडिएको राजनीतिका अतिरिक्त पारिवारिक पृष्ठभूमिका सवालमा समेत कांग्रेस कार्यकर्ताले कुरा उठाइरहेका छन् ।

राजबहादुर ऐरले कांग्रेसको तर्फबाट वडा अध्यक्षको रुपमा टिकट पाएका छन् भने उनका भाई बलबहादुर ऐरले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेद्वारीमा टिकट पाएका छन् । त्यस्तै उनीहरुकै बुबा भने एमालेको संगठित सदस्य रहेको असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुको दाबी छ । ऐर परिवारले सबै पार्टीमा रहेर जसरी पनि वडाको नेतृत्व लिन लागेको भन्दै असन्तुष्ट कांग्रेस कार्यकर्ताले चर्को आलोचना गरिरहेका छन् ।

पौडेल पक्षले दियो कडा चेतावनी
कैलालीको धनगढी उपमहानगरपालिकाभित्र रहेका १९ वटै वडामा देउवा पक्षले एकलौटी गरेको वडा नं.१ का स्थानीय कांग्रेस नेता कृष्ण कुवरले बताएका छन् ।  उनले पार्टी संस्थापन पक्षले धनगढी उपमहानगरको मेयर र उपमेयरदेखि कुनै पनि वाडमा पौडेल पक्षका कार्यकर्ता नपरेको भन्दै शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर निवेदन समेत दर्ता गराइसकेका छन् ।

कुँवर केही दिनअघि मात्र पार्टी नेतृत्वको सो खालको निर्णयविरुद्ध आठ दिनसम्म आमरण अनसननै बसेका थिए तर पछि नेताहरुको आग्रहपछि अनसन तोडेको उनले बताए । पार्टीले गरेको निर्णयविरुद्ध यसबेला धनगढीका १,२,३,४,५ नम्बर वडाहरुमा व्यापक विरोध भैरहेको बताइएको छ ।

धनगढी उपमहानगरपालिकाकै सबैभन्दा राम्रो मत भएका ती वडाहरुमा देखिएको असन्तुष्टिलाई व्यवस्थापन नगरे मेयर र उपमेयर समेत हार्ने कांग्रेस कार्यकर्ताहरुको भनाई छ । धनगढी उपमहानगरमा अहिले कांग्रेसले कृष्णबहादुर महरालाई मेयरको उम्मेद्वार उठाएको छ । उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।

यी हुन् वडा नं.३ का राजीनामा दिनेहरु