पु.समाचार

कांग्रेस र माओवादीको कदमप्रति एमालेको आपत्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने बताएका छन् । नवनिर्वाचित प्रधानमन्त्रीलाई संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूले शुक्रबार संसदको बैठकमा दिएको बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री देउवाले संविधान संशोधनमा आशंका नगरी दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन राजपालगायत मधेसकेन्द्रित दलहरूलाई आग्रह गरे ।

‘अहिलेलाई संविधान संशोधन पास हुने अवस्था रहेन, फेल गराउनु उचित भएन,’ देउवाले भने, ‘पहिले चुनाव सफल पारौं, त्यसपछि संशोधन गरौं । म विश्वास दिलाउन चाहन्छु, (चुनावपछि) पास गराएरै छाड्छौं ।’

पूर्वसहमति कार्यान्वयनमा सत्तारूढ गठबन्धन इमानदार नभएको आरोप लगाउँदै राजपाका सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र यादवलगायत नेताले संसदमा विचाराधीन संशोधन विधेयक तत्काल पारित गर्न माग गरे ।

मधेस आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत, घाइतेको उपचारलगायत माग पूरा नभएकाले पनि निर्वाचनको वातावरण बन्न नसकेको राजपा नेताहरूले प्रधानमन्त्रीसँग गुनासो गरे ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, प्रमुख प्रतिपक्षी एमालेले भने संविधान सर्वस्वीकार्यताका नाममा प्रतिपक्षीलाई ‘निरन्तर कुना पार्ने’ काम नगर्न नयाँ सरकारको ध्यानाकर्षण गराएको छ ।

देउवालाई विगतका कमजोरी नदोहोर्या्उन सुझाव दिँदै नेम्वाङले भरतपुरमा मतपत्र च्यात्ने माओवादी कदम र तराईमा एमालेको कार्यक्रम निषेध गर्ने प्रवृत्ति (राजविराज घटना) विरुद्ध कांग्रेसको मौनताप्रति आपत्ति जनाए ।