समाचार

सुकेधारामा गाडी ब्याक गरेर हत्या गरिएकी राधा परियारका आफन्तहरुको आवाज प्रहरीले किन सुनेन ?

काठमाण्डौ । उदयपुर चौदण्डी नगरपालिका–७ की ४३ वर्षीय राधा परियार काठमाण्डौमा सामान्य मजदुरी गरेर जीवन गुजारा गरिरहेकी थिइन् । सामान्य मजदुरी गरेर जीवन गुजारा गरिरहेकी उनी गत जेठ १७ गते राजधानीकै सुकेधारामा हिडिरहेकी थिइन् । सडक क्रस गर्ने क्रममा उनलाई चक्रपथ चल्ने ना २ ख ५०९१ नम्बरको सार्वजनिक बसले ठक्कर दियो । ठक्कर दिए लगत्तै सवारी चालकले बस ब्याक गरेर उनको जीवन नै नष्ट पारिदिए । अस्पताल लैजाँदा लैजाँदै उनको प्राण उड्यो । काभ्रपलाञ्चोक कोशीपारीका बसका चालक अनिश गिरी यसबेला प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरीले महाराजगञ्ज प्रहरी विटमा राखिएको छ ।

यो घटना भएको आज १० वितिसकेको छ । मृतक परियारको शव यसबेला शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ तर पीडित पक्ष र पीडक पक्षका बीचमा आन्तारिक सहमति नहुँदा परियारको शव उठ्न सकेको छैन् । पीडित पक्षले उचित क्षपिूर्ति नदिएसम्म शव नउठाउने अडान लिएको छ भने पीडक पक्षले भने पीडितले राखेको मागको सुनुवाई नगरेको उनीहरुको गुनासो छ । ३ छोराछोरीकी आमासमेत रहेकी मृतक राधा परियारका पतिको निकै वर्ष अघिनै निधन भैसकेको थियो ।

मृतक परियारका सानाबुबा कबिराज परियारका अनुसार पीडक पक्षले उनै ३ छाराछोरीको समेत भविष्य निर्धारण हुने गरी क्षतिपूर्ति दिनुपर्ने माग रहेको छ । पीडित पक्षले १५ लाख माग गरेका छन् तर पीडक पक्षले साढे ५ लाखसम्म क्षतिपूर्ति दिन सहमत भएको छ । यो घटनामा प्रहरी समेत मौन रहेको पीडित पक्षले गुनासो गरेका छन् । घटनाका बारेमा प्रहरीसँग सोधपुछ गर्न खोज्दा डिआइजी बमबहादुर भण्डारीको मोबाइल उठेन ।

मृतक राधा परियारकी बहिनी अम्बिका परियारले आफुहरुलाई यो घटनामा दलित भनेर हेपिएको गुनासो गरेकी छन् । आफ्नी दिदी राधाको शब शिक्षण अस्पतालमै रहेको र सम्बन्धित पक्षले न्याय दिने कुरामा चासो नदिएको भन्दै उनले आफुहरुलाई दलित भनेर नहेप्न समेत चेतावनी दिइन् । दलित भनेर हेपिए आफुहरुले सम्बन्धित निकायमा पुगेर थप कडा कदम चाल्न बाध्य हुने पनि पीडितहरुले चेतावनी दिएका छन् ।