राजनीति

यसरी कब्जा गर्दैछ कांग्रेसले पूर्वाञ्चलकै प्रभावशाली उपमहानगर धरान र इटहरी !

सुनसरी । स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा सुनसरी जिल्लामा नेपाली कांग्रेसको चुनावी चहलपहल तीव्र भएको छ । नेपाली कांग्रेसले जिल्लाका उपमहानगर, नगर र सबै गाउँपालिकाका उम्मेद्वारहरु समेत छनोट गरिसकेको छ ।  जिल्लाका प्रभावशाली उपमहानगरहरु धरान र इटहरीमा मेयरको उम्मेद्वारमा क्रमशः तिलक राई र रोहित प्रसाई उम्मेद्वार छनोट भएका छन् । यी दुई उपमहानगर सुनसरी जिल्लाका प्रभावशाली क्षेत्र हुन्, जहाँ कांग्रेसले एमाले, माओवादी र मधेसी मोर्चासँग आवद्ध दलहरुसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

बाहिरी राजनीतिक प्रतिस्पर्धालाई समेत हेरेर नेपाली कांग्रेसले इटहरी र धरान उपमहानगरपलिकाको विकासका लागि आफ्नो छुट्टै घोषणापत्र समेत जारी गरेको छ । धरानमा कांग्रेसको तर्फबाट मेयरका लागि उम्मेद्वार उठेका तिलक राईका अनुसार यहाँ वर्षौदेखि थाती रहेका विकासका मुद्धाहरुलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

त्यसका लागि नेपाली कांग्रेसले चक्रपथ निर्माण गर्नेदेखि एयरपोर्ट निर्माण गर्ने सम्मका अत्यन्तै लोकप्रय नाराहरु अघि सारेको छ । मेयरका उम्मेद्वार राईका अनुसार धरान पूर्वकै सबैभन्दा महंगो शहरका रुपमा परिचित छ ।

त्यसका लागि उपभोक्तामैत्री शहर निर्माण गर्ने, बेरोजगारी समस्या समाधान गर्ने, बसपार्कको व्यवस्थापन, खानेपानीको व्यवस्थानसम्मका विकासका एजेण्डा कांग्रेसले अघि सारेको कुरा उम्मेद्वार राई बताउँछन् ।

त्यतिमात्र होइन,धरानको विकासका लागि यहाँको सामाजिक संरचनाको व्यवस्थापन पनि महत्वपूर्ण पाटो भएको उनको भनाई छ । धरान आफैमा सबै जातजातिहरु मिलेर बनेको पूर्वको चर्चित शहर हो, ती सबै जातजातिको पहिचान गर्ने कार्यक्रमहरु समेत कांग्रेसले अघि सारेको उनले बताए ।

धार्मिक पर्यटनदेखि थुप्रै विकासका मुद्धाहरुलाई पार्टी घोषणापत्रमै उल्लेख गरिएको उनको भनाई छ । त्यस्तै जिल्लाको अर्को महत्वपूर्ण स्थानीय निकायको रुपमा रहेको इटहरी उपमहानगरपालिकामा समेत कांग्रेसले त्यस्तै खालका चुनावी नाराहरु उठाएको देखिन्छ ।

इटहरी पूर्वका सबै नाकाहरु छिर्ने चौबाटो हो । जहाँ आर्थिक विकासको मुद्धालाई सही व्यवस्थापन गर्न सके त्यसले मुलुकको आर्थिक विकासमा समेत ठूलो योगदान दिन सक्ने नेपाली कांग्रेस सुनसरीका नेताहरुको विश्वास छ ।

त्यस्तै,जिल्लाका नगरपालिकाहरुमा समेत कांग्रेसले चुनावी प्रचारलाई तिव्रता दिएको छ । भर्खरै निर्माण भएका नगरपालिकाहरुको संरचना पहिलेको ग्रामीण क्षेत्रको संरचनासँग मेल नखाएपनि राजनीतिक दलका नेता कार्यकर्ताहरुले सहज ढंगले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिइरहेका छन् ।

कांग्रेसले ती संरचनाहरुमा समेत विकासका नयाँ एजेण्डा लिएर गएको कांग्रेसको तर्फबाट बराह नगरपालिकामा उठेका मेयरका उम्मेद्वार बाबुराम विष्ट बताउँछन् ।

विष्टका अनुसार आफुहरुले पनि बराह नगरपालिकाको विकासका लागि आर्थिक र सामाजिक विकासका मुद्धाहरु उठाएको उनले स्वीकार गरे । बराह क्षेत्र आफैमा धार्मिक पर्यटकीय क्षेत्र भएकोले यसको विकासका लागि आफुहरुले व्यवहारिक मुद्धाहरु उठाएको उनको दाबी छ ।

विष्टका अनुसार बराहको पुर्वतर्फ रामधुनी, दक्षिणमा अन्तर्राष्ट्रिय स्तरको अर्ना कुञ्ज र सिमसार क्षेत्र रहेको छ । यहाँ विभिन्न किसिमका चराचुरुङ्गीहरु पनि आउनेजाने भैरहने भएकोले पर्यटकहरुले रोजेको स्थानमा पर्छ । यी स्थानहरुको विकासका लागि कांग्रेसले एउटा छुट्टै किसिमको कार्यक्रम अघि सारेको उनको भनाई छ । त्यतिमात्र होइन, बराह नगरपालिका कोशी पीडितहरुको स्थान समेत हो ।

यहाँका वासिन्दाहरु अहिले पनि जंगलमा अस्थायी रुपमा बसोबास गरिरहेका छन् । उनीहरुको व्यवस्थापनमा समेत कांग्रेसले छुट्टै किसिमको कार्यक्रम ल्याउने विष्टको भनाई छ । त्यस्तै, सुनसरीका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत चुनावी तयारी तिव्र भएको छ । नेपाली कांग्रेस लगायतका दलहरुले आ–आफ्नै किसिमका विकासका नारा र चुनावी एजेण्डाहरु लिएर कार्यकर्ताहरु गाउँ र नगरमा पुगेका छन् ।

चुनावी जितमा बाहिरी र भित्री अन्तरविरोध बाधक !
नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीका अनुसार सुनसरीलाई अब चुनावी माहोलले तताइसकेको छ । सबै नेता र कार्यकर्ताहरु गाउँ–गाउँ पुगिसकेका छन् । घरदैलो अभियान जारी छ । पार्टीले भर्खरै उम्मेद्वारहरुको टुंगो लगाएकोले मेयर–उपमेयर र प्रमुख–उपप्रमुहरु पनि गाउँ पुग्ने क्रम जारी छ ।

सचिव भण्डारीका अनुसार यो पटकको चुनावी अभियानमा बाहिरी रुपमा दलहरुबीच चर्को प्रतिस्पर्धा हुँदैछ । विशेषगरी सुनसरीमा नेपाली कांग्रेस, एमाले र माओवादीबीच चर्को प्रतिष्पर्धा हुने देखिन्छ ।

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा चुनावी प्रतिस्पर्धा हुनु स्वाभाविक भएपनि कांग्रेसको जित सुनिश्ति हुने सचिव भण्डारीको दाबी छ । यद्यपि, जितको परिणाम हासिल गर्न बाहिरी र भित्री चुनौतीहरु रहेको भण्डारीको दाबी छ ।

बाहिरी चुनौतीसँग लड्न सजिलो भएपनि पार्टीभित्रै देखिएको अन्तारिक चूनौतीको व्यवस्थापन सही ढंगले गर्न नसके त्यसको असर पार्टीमा देखिने उनको दाबी छ । कांग्रेस सुनसरीमा पनि चुनावमा उम्मेद्वार छनौटको विषयलाई लिएर चर्को असन्तुष्टि देखापर्यो ।

आन्तरिक असन्तुष्टिलाई व्यवस्थापन गर्न जिल्ला पार्टी सभापति राजिव कोइरालाको नेतृत्वमा समिति समेत बनेको सचिव भण्डारीले बताए । पार्टीभित्रको असन्तुष्टिलाई सही ढंगले व्यवस्थापन गरे यो पटकको स्थानीय तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउने निश्चित भएको उनले दाबी गरे ।

त्यस्तै बराह नगरपालिकाका मेयरका उम्मेद्वार विष्टका अनुसार यसअघि सो क्षेत्रमा एमालेका केन्द्रीय नेता भीम आचार्यले जिते पनि एमालेले खासै विकासका योजनाहरु अघि नसारेकोले जनतामा असन्तुष्टि आएको बताए । उनले भने,‘सो क्षेत्रमा एमालेले जिते पनि उसले खासै विकासका कार्यक्रम नल्याएकोले जनतामा चर्को असन्तुष्टि देखिन्छ र यो पटकको चुनावी परिणाम कांग्रेसको पोल्टामा जाने निश्चित देखिन्छ ।’