खेलकुद

श्रीलंकाद्वारा भारत पराजित

एजेन्सी । च्याम्पियन्स ट्रफि क्रिकेटमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ । ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ३ विकेट जाँदा ८ बल बाँकी छँदै भेट्टाएको हो ।  श्रीलंकाको जीतसंगै यो समूह ‘बी’बाट चारै टीमको सेमिफाइनल जाने सम्भावना कायमै भएको छ । अब श्रीलंकाले पाकिस्तानसँग र भारतले दक्षिण अफ्रिकासँग खेल्नेछ । दुवै खेलका विजयी हुने टीम अन्तिम चारमा पुग्नेछन् ।

लण्डनको ओभलमा भएको बिहीबारको खेलमा ३ सय २२ रनको लक्ष्य भेट्टाउन श्रीलंकाका कुशल मेण्डिसले ९३ बलमा ८९ रन, धनुष्का गुणतिलकाले ७२ बलमा ७६ रन साथै कप्तान एन्जेलो म्याथ्युजले ४५ बलमा अविजित ५२ रनको योगदान गरे । कुशल परेराले ४४ बलमा ४७ रन बनाए । असेला गुनरत्नेले २१ बलमा ३४ रन बनाए । ११ रनमै पहिलो विकेट गुमाए पनि श्रीलंकाका मेण्डिस र गुणतिलाकाले दोश्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरे । भारतका भुवनेश्वर कुमारले एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको १ सय २८ बलमा बनाएको १ सय २५ रन, रोहित शर्माको ७९ बलमा ७८ र महेन्द्रसिंह धोनीको ५२ बलमा ६३ रनको मद्दतले ३ सय २१ रनको योगफल तयार पारे पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन । श्रीलंकाका लसिथ मालिङ्गाले दुई, सुरंगा लकमाल, नुवान प्रदीप, थिसारा परेरा र असेला गुनरत्नेले एक एक विकेट लिए । प्रतियोगितामा शुक्रबार दिउँसो सवा ३ बजेपछि न्युजिल्याण्ड र बंगलादेश खेल्नेछन् ।