राजनीति

केन्द्रीय समितिको बैठकका अनुसार काँग्रेसले शुक्रबारसम्ममा उमेर्द्वारको टुंगो लगाउने

काठमाडौँ । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश नं १, ५ र ७ को भोलिसम्म टुङ्गो लगाउने नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

उनले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, सङ्खुवासभा लगायतका अधिकांश जिल्लाको टुङ्गो लगाएको र शुक्रबार बस्ने बैठकले सबै उम्मेदवार टुङ्ग्याउने बताबताए । २ नं प्रदेशको भने केही समय लाग्ने उनले जानकारी दिए।

काँग्रेसले सो निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखकलगायतको उपस्थिति थियो ।