राजनीति

बाँदरमुढे बम विष्फोटको १२ बर्ष, पिडित भन्छन्ः घाईतेको जिम्मा राज्यले लिनुपर्छ

चितवन । दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबसमाथि भएको बम विष्फोटको आज १२ बर्ष पुरा भएको छ ।

द्वन्दकालिन समयमा तत्कालीन नेकपा माओवादीले यहाँ गाडीमा विफोट गराएको थियो । घटनाका पीडितहरुले अझै पिडामा मल्हम नलागेको भन्दै गुनासो पोखेका छन् ।

२०६२ जेठ २३ गते आजैको दिन माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आईरहेको ना २ ख ३२४५ नम्बरको यात्रुबाहक बसमा विष्फोट भएको थियो । माडीको बाँदरमुढे खोलामा विष्फोट हुँदा ३८ जनाको मृत्यु भएको थियो अन्य ७२ जना घाईते भएका थिए ।

घाइते मध्य थप चार जनाको पछि मृत्यु भैसकेको छ । घटनामा टाउकोमा चोट लागेका घाइते गंगाबहादुर गुरुङको दुई वर्षपछि मृत्यु भयो भने चुनु केसीको चार वर्षपछि, नरहरि सापकोटाको डेढ वर्षपछि र नारायणदत्त पौडेलको तीन वर्षपछि निधन भएको थियो ।

मओवादीले तत्कालिन अवस्थामा नै विज्ञप्तिमार्फत भुसबस भएको घटना भन्दै माफी मागेको थियो । घटनामा परी ६ जना बालबालिकाले ज्यान गुमाए थिए भने घाइते भएका ७ बालबालिका अझैपनि कुनै न कुनै समस्यामा छन् ।

बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले १२ वर्ष बित्दा पनि जनताले न्याय नपाएको बताए ।

उक्त घटनाका कतिपय घाईतेहरु अहिले पनि उपचाररत रहेका छन् । कतिपय मानसिक रोगी भएका छन् ।
अधिकारी भन्छन् “घाईतेको थप उपचार राज्यले गर्नुपर्छ, मृतक र घाईतेका आश्रित परिवारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।” कतिपयले मानसिक रोगको औषधि नियमित प्रयोग गर्दै आएका छन् ।

आज यहाँ पिडितहरुले आयोजना गरेको स्मृति सभाका क्रममा समेत उनीहरुले राज्य र माओवादीले पिडितहरुलाई ध्यान दिन नसकेको बताए ।

नवनिर्वाचित नगरप्रमुख ढकाल भन्छन् पहिलो एजेण्डा पिडितलाई सम्बोधन

हालै सम्पन्न निर्वाचनमा माडी नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । माडी नगरपालिकाका प्रमुख ढकाल आफ्नो पहिलो एजेण्डा बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने रहेको बताउँछन् ।

उनले भने “कमजोरीलाई सधैं कोट्याउनु भन्दा जुन परिस्थिति अहिले आएको छ, त्यसलाई समाधान गर्नेतर्फ लाग्न उचित हुन्छ ।” पीडितका माग स्थानीय तह र माथिल्लो निकायबाट पूरा गराउन आफू प्रतिबद्ध रहेको ढकालले बताए ।

घटनास्थल नजिकै रहेको तीन विगाहा जग्गामा पार्क निर्माण गर्ने योजना रहेको ढकालले बताए । उनले भने “सोही क्षेत्रमा मृतकको सम्झनामा स्मारक र मन्दिर पनि बताईने छ ।”