पु.समाचार

यसकारण ६ राष्ट्रले एक्कासि कतारसँग सम्बन्ध तोडे, यस्ता छन् भित्री कारण !

काठमाडौं । मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार साउदीले कतारसँग आफ्ना सबै सीमा र सामुद्रिक तथा हवाई सम्पर्कसमेत बिच्छेद गरेको छ । यस्तै, संयुक्त अरब इमिरेट्सले कतारका कूटनीतिक प्रतिनिधिलाई ४८ घन्टाभित्र देश छाड्नट आदेश दिएको छ । उसले कतार जाने आफ्नै सबै विमानसेवा स्थगन गरेको छ ।
मंगलबारको अन्नपूर्णमा लेखिएको छ, साउदी अरेबियाले एउटा गोप्य मुद्दामा कतारले सम्प्रभुतामाथि नै खलल पु‍र्यााएको गम्भीोर आरोप लगाएको छ भने इजिप्टको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको बताइएको छ । इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायात सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्याउने गरेको छ ।

यसैबीच, कतारले आतंकवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ । सम्बन्धविच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्था सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपाय अवलम्बन गरी अघि बढ्ने बताएको छ । कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षड्यन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।

बहराइनको विदेश मन्त्रालयले दोहाबाट आफ्नो दूतावास ४८ घन्टामा हटाउने बताएको छ । यसैगरी, बहराइनमा रहेका कतारका कूटनीतिज्ञलाई पनि देश छाड्न आदेश दिएको छ । कतारका सर्वसाधारण नागरिकले पनि दुई साताभित्र बहराइन छाड्नुपर्नेछ । यी दुई देशले हवाई र जल यातायात बन्द गर्ने भएका छन् । यसबाट कतार एयरवेजलाई कस्तो प्रभाव पर्छ भनेर केही पनि खुलाइएको छैन । कतार एयरवेज यस क्षेत्रकै प्रभावशाली विमानसेवा हो । साउदी अरेबिया नेतृत्वका यी मुलुकले कतारले अल कायदा र इस्लामिक स्टेटलाई सहयोग गरेको दाबी गरेका छन् ।

कतारले भने यस्ता आरोपको खण्डन गर्दै आएको छ । आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकी अर्थ मन्त्रालयले कतारका कैयौं नागरिकमाथि प्रतिबन्ध लगाएको छ । हमासका पूर्वप्रमुख खालिद मेसाललाई शरण दिएकोमा पनि ती मुलुकले विरोध गरेका छन् । अफगान तालिबानले पनि सन् २०१३ मा दोहामा शखा कार्यालय खोलेको थियो । कतारले सन् २०२२ को फुटबल वल्र्डकप आयोजना गर्दै छ ।

इरानले कतार र अन्य अरब मुलुकबीच देखिएको समस्या राजनीतिक वार्ता र शान्तिपूर्वक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । अर्को मुलुक टर्कीले अरब क्षेत्रमा देखिएको समस्या समाधान गर्न तत्पर रहेको जनाएको छ ।