राजनीति

अन्तरघात गरेर आफ्नै पार्टीका उमेर्द्वारलाई हराउन सकृय १६ जना काँग्रेसी साधारण सदस्य नरहनेगरी निलम्बन

सल्यान । गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका स्थानीय नेता कारबाहीमा परेका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन् । नेपाली काँग्रेसले छत्रेश्वरी गाउपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।

यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

काँग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै पाँचजना नेतालाई १५ दिने स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिनेमा पूर्व जिल्ला कार्यसमिति सदस्य, ध्रुव श्रेष्ठ र शारदा नगरपालिकाका नगर सभापति सचेत शाह रहेका छन् ।

यस्तै, काँग्रेसले महाधिवेशन प्रतिनिधि श्यामनारायण रेग्मी, टीकाराम केसी र धु्रव श्रेष्ठलाई पनि १५ दिने स्पष्टीकरण सोध्ने तथा चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने जनाइएको छ ।