अन्तर्राष्ट्रिय

लण्डन आक्रमणको विश्वका नेताहरुद्वारा कडा निन्दा

एजेन्सी । लण्डनमा सात जनाको ज्यान जाने गरी शनिबार राती भएको हमलाको विश्व नेताहरुले आक्रोश व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीटर सन्देश मार्फत आक्रमणको निन्दा गरेका छन्। तर उनले लण्डनका मेयर सादिक खानको आलोचना गरेको जस्तो पनि बुझिएको छ। मेयर खानले हमला भएपनि आत्तिनु पर्ने अवस्था नरहेको बताएका थिए।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले फ्रान्स पहिलेभन्दा पनि अझ निकटताका साथ ब्रिटेनको पक्षमा रहेको बताएका छन्। जर्मन चान्सलर एंगेला मर्केलले हिंसाको विभत्स अवस्था र शोकमा तथा आंतकवादका सबै प्रकार विरुद्ध लड्ने दृढतामा आफ्ना सीमाका सबै क्षेत्रमा युरोप एकताबद्ध रहेको बताएकी छन् ।

पोप फ्रान्सीसले पनि युद्ध तथा आतंकवादको महारोग निको हुनु पर्ने भन्दै हमलाका निर्दोष पीडित र तिनका परिवारजनका लागि प्रार्थना गर्ने बताएका छन्।
त्यसअघि आफ्नो कार्यालय टेन डाउनिंग स्ट्रीट बाहिरबाट बोल्दै ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले तीन महिनाको समयमा देशमा तेस्रो आतंकवादी हमला भएको भएतापनि आगामी बिहीबार हुने आम निर्वाचन प्रभावित नहुने बताएकी थिइन् ।

प्रधानमन्त्री मे ले यो पछिल्लो हमला र त्यस्तै प्रकृतिका विगतका घटना गराउनेहरु इस्लामवादी अतिवादको दुष्ट सिद्धान्तबाटु एकआपसमा सम्बन्धित रहेका बताइन्।

त्यस्तो सिद्धान्त इस्लामको गलत व्याख्या भएको र बहुलवादी ब्रिटिश मूल्यमान्यता विपरित रहेको उनको भनाइ थियो।