राजनीति

एमालेको कदमको चौतर्फी विरोध, आए यस्ता प्रतिक्रिया

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको बेला संसद अवरोध गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ । प्रधानमन्त्री निर्वाचनको बेला संसद अवरोध गर्नु गैरलोकतान्त्रिक चरित्र भएको भन्दै एमालेको विरोध सुरु भएको हो । भरतपुरमा महानगरमा मतगणना प्रक्रियामा विवाद देखिएलगत्तै एमालेले पुन मतगणनाको माग गर्दै संसद अवरोध गर्दै आएको थियो ।

शनिबार निर्वाचन आयोगले भरतपुरमा पुन मतगणनाको साटो मतदान प्रक्रियामै जाने निर्णय गरेपछि एमाले थप आक्रमक भएको छ । आयोगको निर्णयपछि एमालेले संसदको अवरोधलाई निरन्तरता दिने जनाएको छ । एमालेले संसदमा अवरोध जारी राखे प्रधानमन्त्री निर्वाचन समेत प्रभावित हुन सक्ने देखिन्छ ।

एमालेको यो रवैया गैरलोकतान्त्रिक पारा भएको भन्दै सर्वत्र विरोध सुरु भएको छ ।  वरिष्ठ पत्रकार एवम् सम्पादक प्रतिक प्रधानले एमालेको यो पारा गैरलोकतान्त्रिक भएको भन्दै एमालेप्रति आक्रोस पोखेका छन् ।

प्रधानले आफनो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै प्रतिपक्षले सक्छ भने संसदमा देउवाको झाँको झारोस नत्र संसद अवरोध गर्नु गैरलोकतान्त्रि पारा भएको दाबी गरेका छन् । त्यस्तै अन्य सर्वसाधारणले पनि एमालेको निकै दिनदेखि जारी संसद अवरोध गर्ने कार्यको खुलेर आलोचना गरिरहेका छन् ।