राजनीति

काँग्रेस सभापति देउवा आईतबार प्रधानमन्त्री बन्ने, बामदेवले मानेनन् केपीको आग्रह

काठमाडौँ । मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । नेकपा एमालेले पार्टी उपाध्यक्ष बामदेव गौतमले प्रतिपक्षी दलका तर्फबाट प्रधानमन्त्रीमा उमेर्वारी दिने भनिएपनि बामदेबले उमेर्द्वारी दिएनन् ।

संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने समय तोकेको थियो । सो अवधिमा सभापति देउवाको एकल उम्मेदवारी परेपनि मतदान प्रक्रिया भने अगाडि बढाउनुपर्ने संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार आइतबारका लागि प्रधानमन्त्री पदको उम्मेदवारको समर्थक र प्रस्तावकले आफ्नो धारणा राख्ने र मतदान गर्ने गरी कार्यसूची तय गरिएको छ ।

व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावलीअनुसार एकजनाको मात्रै उम्मेदवारी परेपनि निर्वाचन प्रक्रिया पूरा गर्नु पर्नेछ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद्ले तोकेको समयमा उम्मेदवारी दर्ता गराएन ।

प्रधानमन्त्रीमा देउवा निर्वाचित हुन संसद्मा हाल कायम ५९३ सदस्य सङ्ख्याको बहुमत अर्थात् २९७ मत आवश्यक पर्छ ।

देउवाको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा (संयुक्त) का जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक बसेका छन् ।

पुष्पकमल दाहालले गत जेठ १० गते राजीनामा दिएपछि मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।

सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न संसद्लाई पत्राचार गरेकि थिइन्।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच १० महिना अगाडी भएको भद्र सहमतिका आधारमा देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्रीमा उमेर्द्वारी दिन बामदेब गौतमलाई आग्रह गरेपनि नाममात्रको प्रधानमनत्री बन्न नेता गौतमले ईन्कार गरेको स्रोतको दावी छ