राजनीति

एमालेको अवरोध हुँदाहुँदै पनि यसरी बन्दैछन् शेरबहादुर देउवा प्रधानमन्त्री !

काठमाण्डौ । कुनै त्यस्तो बाधा अड्चन नआए आइतबारसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुँदैछन् । सभामुख ओनसरी घर्तीले शुक्रबार सुचना टाँस गरी प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकी छन् । सो तालिका अनुसार आइतबार प्रधानमन्त्रीको निर्वाचन हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुरको मतगणना विवादलाई लिएर संसद अवरुद्ध गरिरहेको बेला संसदले सुचना टाँसेर निर्वाचन प्रक्रियालाई अघि बढाएपछि आइतबार संसदमा एमालेको प्रतिक्रिया के होला ? भन्ने जिज्ञासा उठेको छ । एमालेले संसदमा भएको अवरोध हटाएर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन माग राखेको छ । उसलाई आफ्नो गठबन्धनका दलहरुले समेत साथ दिएका छन् ।

शुक्रबार बसेको एमाले नेतृत्वको प्रतिपक्षी दलहरुको बैठकले सो निर्णय गरिसकेको छ । तर सत्ता गठबन्धनका दलहरुले जसरी पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा जाने तयारी गरेका छन् । निर्वाचन आयोगले भरतपुरमा भएको मतगणना विवादको विषयमा टुंगो नलगाएसम्म एमालेले आफ्नो माग यथावत राख्ने तयारी गरेको देखिन्छ ।

गत जेठ १४ गते राती मतगणना भैरहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि त्यहाँको मतगणना प्रक्रिया नै स्थगित भएको छ । सो घटनापछि एमालेले तत्काल मतगणना सुरु गर्न माग गरिरहेको छ भने कांग्रेस माओवादीले मतदान प्रक्रियामा जान निर्वाचन आयोगलाई दबाब दिइरहेका छन् । सम्भवत आज–भोलीनै यो विषयमा आयोगले अन्तिम निर्णय गर्दैछ । आयोगको निर्णय नआएसम्म एमालेले संसद अवरोध गर्ने घोषणा गरिरहेको छ ।

उता, प्रधानमन्त्रीको निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने आफ्नै ढंगले त्यसको तयारीलाई तिव्रता दिइरहेका छन् । निर्वाचन प्रक्रियाका बारेमा सर्वपक्षीय छलफल र बहसलाई अघि बढाउने क्रममा सभापति देउवाले राष्ट्रिय जनता पार्टी र राप्रपालाई समेत सरकारमा सहभागी गराउने तयारीका साथ अघि बढ्ने संकेत दिएका छन् । धेरै दलको समर्थन जुटाउने प्रयासमा रहेका सभापति देउवाको पक्षमा स्वयं कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपाल रहेको देखिन्छ ।

यी सबै दलहरुको मतले पनि देउवाले प्रधानमन्त्री निर्वाचन जित्ने निश्चित छ, तर उनी अझै धेरै मत झार्नका लागि कसरत गरिरहेका छन् । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सभापति देउवाले सत्तासमीकरण बलियो बनाउन पार्टीका तर्फबाट नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएको छ ।

एमालेको यस्तो छ तयारी
सम्भवत त आइतबारको निर्वाचन प्रक्रिया सुरु हुने बेलासम्म निर्वाचन आयोगले भरतपुरको मतगणना विवादका विषयमा अन्तिम निर्णय गर्नसक्छ । शुक्रबार अन्तिम निर्णय गर्ने तयारीमा रहेको आयोगले शनिबार र आइतबारभित्र अन्तिम निर्णय गर्न सक्ने श्रोतको दाबी छ । आयोगले एमालेको माग अनुकुल निर्णय गर्यो भने प्रधानमन्त्री निर्वाचन विना अवरोध सम्पन्न हुने देखिन्छ । अन्यथा, एमालेले अवरोध गर्न सक्छ । एमालेको अवरोधको वावजुद पनि संवैधानिक आधारमा निर्वाचन प्रक्रिया अघि बढाउने सभामुखले तयारी गरेकी छन् । त्यो बेला एमालेले अवरोध गर्न सक्छ ।

निर्वाचन प्रक्रिया प्रभावित हुनसक्छ । तर आयोग निर्णय एमाले अनुकुल आए, एमालेले संसद अवरोध गर्नुका साटो निर्वाचनको मतदान प्रक्रिया भाग लिने जनाइएको छ । त्यो बेला एमालेले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको लागि उम्मेद्वार समेत तय गर्ने तयारी गरिरहेको जनाइएको छ । एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उम्मेद्वार उठाउने संकेत दिएको छ, यद्यपि, शनिबार बिहान सम्म निर्णय भने गरिसकेको छैन ।

कांग्रेसको तयारी
सभापति देउवा प्रधानमन्त्रीको उम्मेद्वार हुने भएपछि कांग्रेसले निर्वाचन प्रक्रियामा दुई तिहाई मत ल्याउने तयारीका साथ छलफल र बहसलाई तिव्रता दिइरहेको छ । उसले पार्टी सभापति देउवालाई सहयोग गर्न सबै दलहरुलाई आह्वान समेत गरिरहेको छ । आफ्नो पक्षमा रहेका दलहरुका अतिरिक्त राष्ट्रिय जनता पार्टी, राप्रपा लगायतका दलहरुलाई सम्मानजनक मन्त्रालय दिएर कांग्रेसले दुई तिहाई मत प्राप्त गरी आफ्नो उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने अन्तिम कसरत गरिरहेको छ ।