पर्यटन/संस्कृति

पोखरालाई विश्वब्यापी रुपमा चिनाउन यस्ता छन् कार्यक्रमहरु

वासुदेव पौडेल

पोखरा, । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै पोखराको पर्यटकीय विकासको यात्रा सुरु भएका कारण पनि यसको आरोहण दिवसलाई पोखरामा महत्वका साथ लिने गरिएको छ ।

उक्त पहिलो आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अन्नपूर्ण आरोहण दिवसका रुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरेको सङ्घका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये लगभग १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेको उनले जानकारी दिए ।

“अन्नपूर्ण हिमालको आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको हो,” उनले भने, “पर्यटन क्षेत्रमा यस दिवसको गरिमा र महत्वलाई जीवन्त राख्नु अपरिहार्य छ ।”

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको टान पश्चिमाञ्चल सङ्घका पूर्वअध्यक्ष एवम् राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, पोखराका अध्यक्ष सोम थापाले बताए ।

“आरोहण गर्नेहरू सकेसम्म विश्वको सर्वोच्च शिखर नै आरोहण गर्ने सोच राख्ने कारण अन्नपूर्ण हिमालको आरोहण गर्नेको सङ्ख्या भने कम छ,” उनले भने, “पहिलो हिमाल आरोहणका रुपमा यसको पहिचान आफैंमा महत्वपूर्ण छ, यसको सफल आरोहणले समग्र नेपालको पर्यटन विकासमा समेत टेवा पुगेको पाइन्छ ।”

थापाका अनुसार अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखरा पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा थप चासो र चर्चाको विषय बनेको हो । सन् १९५० भन्दा अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगण्य मात्र रहेकोमा फ्रान्सेली नागरिक मोरिस हर्जोेगसहित अन्नपूर्ण हिमालको आरोहणका लागि आएको टोलीको पोखरा बसाइसँगै यहाँको पर्यटकीय विकासको औपचारिक सुरुवात भएको हो ।

स्वर्गीय हर्जोगले पोखरासहित नेपाललाई विश्वभरि चिनाउने काम गरेको बताउँदै थापाले त्यसपछि मात्र नेपालका हिमालको सम्बन्धमा अध्ययन–अनुसन्धान सुरु भएको बताए । अन्नपूर्ण आरोहण दिवसको दिन टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले प्रत्येक वर्ष अन्नपूर्ण हिमालका काखमा अवस्थित एक पर्यटकीय गाउँको प्रवद्र्धन गर्दै आएको सङ्घका सहसचिव एवम् होटल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताए ।

अन्नपूर्ण आरोहण दिवसका अवसरमा यसवर्ष अन्नपूर्ण गाउँपालिका–८ दाङसिङस्थित मोहोरिया गाउँको प्रवर्धन गर्न लागिएको उनले जानकारी दिए । अन्नपूर्ण हिमाल अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरिएको छ ।

अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ जसअन्तर्गत मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लम्जुङका आठवटा गाविसलाई यसले समेटेको छ ।

अन्नपूर्ण आरोहण दिवसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रअन्तर्गतका स्थल घान्द्रुक, ल्वाङ, सिक्लेस, भुज्रुङ, जोमसोम, लोमान्थाङ र मनाङस्थित इलाका कार्यालयमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

पदयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै भएको अन्नपूर्ण क्षेत्र विभिन्न पदयात्रीका लागि घरजस्तै बनेको छ । अन्नपूर्ण सर्किटको पदयात्राका स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ ।