राजनीति

भरतपुरमा मतगणना होला कि मतदान होला ? निर्वाचन आयोगले दियो यस्तो संकेत !

काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतगणना प्रक्रिया जारी रहँदा भएको विवादमा ९० ओटा मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगको निर्देशनमा बिहीबार उम्मेद्वारहरुको रोहबरमा गरिएको मतगणनाबाट ९० ओटा मतपत्र च्यातिएको पाइएको हो ।
च्यातिएको मतपत्र गणनापछि चितवन निर्वाचन आयोगले ती मतपत्रको रिपोर्ट केन्द्रीय कार्यालयमा पठाउने तयारी गरिरहेको छ । करिब सयको हाराहारीमा मतपत्र च्यातिएको पाइएकोले अब केन्द्रीय निर्वाचन आयोगले के निर्णय गर्ला ? यो सबैतिर कौतुहलको विषय भएको छ ।

जेठ १४ गते राती मतगणना जारी रहेका बेला एक्कासि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । यो कुरा प्रहरीले समेत पुष्टि गरिसकेको छ । मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि बिहीबार उनीहरु धरौटीमा रिहा भैसकेका छन् । यो विवादमा नेकपा एमालेले तत्काल मतगणनना सुरु माग गरिरहेको छ भने माओवादी–कांग्रेस गठबन्धनले तत्काल मतदान प्रक्रियामा जान दबाब दिइरहेका छन् । त्यसैले यी दुई पार्टीको दबाबका बीच निर्वाचन आयोगले कस्तो निर्णय गर्ला ? यो सबैको चासो र जिज्ञासाको विषय बनिरहेको छ । सबैको चासो र जिज्ञासा यसैमा केन्द्रीत रहेपनि निर्वाचन आयोगले भने एउटा अप्रत्यक्ष संकेत दिइसकेको छ । त्यो हो, मतगणना जारी गर्ने ।

जब भरतपुरमा मतगणना प्रक्रिया अवरुद्ध भयो, मतपत्र च्यातिए त्यसपछि एमाले निकै आक्रमक भयो । उसले भरतपुरमा तत्काल मतगणना प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध समेत पार्यो भने सडक आन्दोलनका कार्यक्रमहरु समेत गरिरहेको छ । त्यसैले एमालेको आक्रमक रणनीतिका कारण सत्तापक्षले कुनै सिधा प्रतिक्रिया दिइरहेको छैन, बरु नयाँ प्रधानमन्त्री चयन प्रक्रियानै अवरुद्ध भएको भन्दै सरकार निर्माणको प्रक्रियामा निर्वाचनको मुद्धा जोड्न नहुने बताइरहेको छ ।

एमालेको संसद अवरुद्ध र सडक आन्दोलनले अप्रत्यक्ष रुपमा सरकारलाई दबाब पुगेका कारण निर्वाचन आयोगले मतगणना प्रक्रिया सुरु गर्ने तयारी गर्न थालेको जानकारहरु बताउँछन् । एमालेले संसद अवरुद्ध नगरे कांग्रेस सभापति देउवा जेठ २१ गते प्रधानमन्त्री हुने निश्चित समेत भैसकेको बेला भरतपुरको मतगणना विवादमा सत्ता गठबन्धनभिको ठूलो पार्टी कांग्रेस फस्न नचाहेको समेत बताइएको छ ।

एमाले र माओवादीबीच भरतपुर घटनामा बढी टक्कर परेका कारण त्यसको प्रभाव सरकार निर्माणको सवालमा नपरोस् भन्ने कुरामा कांग्रेस सभापति देउवा सचेत रहेको समेत जानकारहरु बताउँछन् । त्यसर्थ, आयोगले केही समयमै भरतपुरमा मतगणना प्रक्रिया सुरु गर्ने तयारीमा रहेको श्रोतको दाबी छ ।