राजनीति

नेपाली काँग्रेस रोल्पाले तोक्यो सर्बसम्मत उम्मेदवार

रोल्पा । लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो ।

पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने हुनेभएको छ । सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्याय रहेका छन् । उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत हुन् । लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कमल बुढा र उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ । हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन् । रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन् ।