राजनीति

सोह्र वर्षपछि दरबार हत्याकाण्डसँग जोडिएर आएको अनौठो संयोग,जसले नेपालीहरुलाई झस्काइरहन्छ !

काठमाण्डौ । सँधैजस्तो त्यो दिन पनि राजदरवारका अधिकांश सदस्यहरु त्रिभुवन सदनमा जम्मा भए । साँझ छिप्पिदै गइरहेको थियो । हरेक शुक्रबार साँझ दरबारमा रात्रीभोज र रमाइलो हुने गर्दथ्र्यो । त्यो दिन पनि दरबारका अधिकांश सदस्यहरु जम्मा भइसकेका थिए । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, जेष्ठ सुपुत्र दिपेन्द्र, कान्छा सुपुत्र निराजन, छोरी श्रुति लगायतका सबै सदस्यहरु भोजमा जम्मा भइसकेका थिए । रातको पहिलो प्रहर वित्ने क्रममा दरबारको भोजमा एक्कासि गोली चल्यो ।

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका अधिकांश सदस्यहरु त्रिभुवन सदनभित्रै र बाहिर प्रागंणमा ढले । राजा वीरेन्द्र र ऐश्वर्य पनि त्यही ढले भने कान्छा छोरा निराजनलाई त्रिभुवन सदनको दक्षिणपूर्वी मोहडाको सानो पोखरी छेउमा गोली लाग्यो । घटनामा श्रुति लगायतका राजपरिवारका सदस्यहरु सकिए । यो रक्तपातपूर्ण घटना २०५८ साल जेठ १९ गते शुक्रबार राती भएको थियो । सो घटना भएको आज १६ वर्ष पुगेको छ ।

संयोग त के परेको छ भने १६ वर्षपछिको जेठ १९ गते आज शुक्रबारकै दिन परेको छ । जुन गते र बारले लाखौं नेपालीहरुको मन र मुटु झस्काईरहन्छ ।  जब दरबार हत्याकाण्ड भयो, त्यसबेला केही सदस्यहरु नारायणहिटीको सो भोजमा उपस्थित थिएनन् । जो भोजमा उपस्थित थिएनन्, उनीहरु बाँचे । जो भोजमा उपस्थित थिए, उनीहरु कि घाइते भए, कि त मृत्युवरणनै गर्न पुगे । सो रात्रीभोजमा वीरेन्द्रका भाई ज्ञानेन्द्र उपस्थित थिएनन् तर अर्का भाई धिरेन्द्र भने उपस्थित थिए ।

धिरेन्द्र पनि घटनामा मारिए । घटना घटाउनमा तत्कालीन युवराज दिपेन्द्रको हात रहेको अपुष्ट खबरहरु बाहिर आए । आजसम्म पनि सो हत्याकाण्डको दोष उनकै थाप्लोमा हालिएको छ । घटना भएको रात दिपेन्द्र पनि सोही रात्री भोजमा सरिक भएका थिए । उनले गोली चलाए–चलाएनन् पुष्टि भैसकेको छैन तर उनलाई पनि गोली लागेको थियो । गोली लागेर घाइते भएका दिपेन्द्रले सैनिक अस्पताल छाउनीमा २९ वर्षको उमेरमा जेठ २१ गते मृत्युवरण गरेका थिए ।

राजा वीरेन्द्रको मृत्यु भएलगत्तै अर्धमृत अवस्थामा रहेका दीपेन्द्रलाई तत्काल राजा घोषणा गरिएको थियो । नेपालको इतिहासमा दीपेन्द्र शाह समेत १३ औं राजा भएका थिए तर दुई दिनका लागि राजा भएर उनको दुःखद निधन भयो । त्यसबेला राजान वीरेन्द्र र रानी ऐश्वर्यको मृत्यु हुँदा जति नेपाली दुःखी भएका थिए, त्योभन्दा बढी दीपेन्द्र बाँचिदिउन् भनेर कामना गरिरहेका नेपाली उनको निधनपछि निकै विक्षिप्त बने । यो घटनाले नेपालको राजतसंस्थाको इतिहासमा ठूलो मोड ल्याइदियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला,सभामुख तारानाथ रानाभाट,प्रधानन्यायाधीश,सुरक्षा अधिकारीहरु लगायतको आपतकालीन बैठकले घटनाको छानविन समिति निर्माण गर्यो तर त्यसको फितलो अनुगमन र प्रस्तुतिले दरबार हत्याकाण्डको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेन । तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा सभामुखसहितको अनुगमन टोलीले गरेको अनुसन्धानलाई नेपालीहरुले पत्याएनन् । यतिसम्मकी तत्कालीन सभामुख तारानाथ रानाभाटले घटनालगत्तै दिएको फितलो प्रस्तुतिलाई अहिले पनि नेपाली जनताहरुले हाँसोको रुपमा उडाउने गरेका छन् ।

दरबार हत्याकाण्ड भएलगत्तै स्वर्गीय राजा वीरेन्द्रका भाई ज्ञानेन्द्र शाह नेपालको राजगद्धीमा बसे । दरबार हत्याकाण्डका बारेमा राजनीतिक दलहरुले आ–आफ्नो दृष्टिकोण बनाउन लागे । समग्रमा सबै राजनीतिक दलहरुले समेत भित्री रुपमा दरबार हत्याकाण्डप्रति शंका व्यक्त गर्न थाले । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एउटा अभिव्यक्तिले पनि यसको पुष्टि गर्ने आधार तय गरेको छ । भएको के रहेछ भने जेठ १९ गते बेलुका दरबारको सो रात्रीभोजमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत बोलाइएको थियो । उनी त्यसदिन स्वास्थ्य ठिक नभएको बनाउँदै रात्रीभोजमै गएनन् । यदि प्रधानमन्त्री कोइराला भोजमा पुगेका थिए भने सायद उनको पनि त्यही निधन हुनेरहेछ भन्ने कुरा घटना लगत्तै बाहिर आएको खबरले पुष्टि गरेको थियो । गिरिजा उक्त रात्रीभोजमा किन गएनन् ? त्यो विषय रहस्यकै गर्भमा रहेको जानकारहरु बताउँछन् ।

वीरेन्द्रका भाई ज्ञानेन्द्रले राज्य सञ्चालन गर्न लागेपछि मुलुकको राजनीतिक परिदृष्यहरु तीव्र रुपमा फेरिन थाले । उनको शक्तिको घमण्ड र महत्वाकांक्षाका कारण अन्तत, नेपालबाट राजसंस्था सँधैका लागि अस्ताएर गयो । दरबार हत्याकाण्डनै २ सय ५० वर्ष लामो इतिहास कायम गरेर बसेको राजसंस्थाको अन्तिम अनिष्टको ‘ट्रेलर’ बन्न पुग्यो ।