पु.समाचार

पूर्वराजा वीरेन्द्रको वंश नास भएको १६ वर्षपछि यसरी बन्दैछ त्रिभुवन सदन

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए ।

शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै छ । दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ । दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ ।

संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले त्रिभुवन सदनका भित्री र बाहिरी स्वरूप पुरानोजस्तै बनाउन लागिएकाले निर्माणमा केही समय लाग्ने बताए । उनले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गरिएको थियो । पछि फेरि निर्माण गर्ने निर्णय भयो । अहिले धमाधम काम काम हुँदै छ,’ ढुंगानाले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा बन्न अझै डेढ वर्ष लाग्छ । पुरानै झल्को दिने गरी बनाइने हुँदा मिहिनेत र समय पनि धेरै लाग्छ ।’

संग्रहालयका अनुसार त्रिभुवन सदन निर्माण चार करोड रुपैयाँ लागतमा हुँदै छ । त्यसमध्ये दुई करोड रुपैयाँ भवनमा र दुई करोड रुपैयाँ भित्री डेकोरेसनमा खर्च हुनेछ । अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । संग्रहालयका प्रमुख ढुंगानाले भने, ‘भवन निर्माणसँगै डेकोरेसन पुरानै शैलीमा गरिने हुँदा खर्च धेरै लाग्ने भएको हो । डेकोरेसनपछि सदन पहिलेको जस्तै देखिनेछ ।’

संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो । निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ । डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ । ढुंगानाले भने, ‘सदन निर्माणको कुल अवधि पाँच वर्षको हो । त्यसमध्ये दुई वर्ष डेकोरेसनमै जान्छ । जस्ताको तस्तै बनाउनुपर्ने भएकाले डेकोरेसनमा धेरै समय लाग्ने देखिएको हो ।’