मनोरञ्जन

बन्नेभो दिपेन्द्र र देवयानीको प्रेमकथामा आधारित चलचित्र

काठमाण्डौ । २०५८ साल जेठ १९ गते पूर्वराजा वीरेन्द्र वीर विक्रम शाह र उनको परिवारको वंश विनाश भयो । दरबारभित्रको आन्तारिक कारणले दरबार हत्याकाण्ड भएको हल्ला चलेपनि यसको आन्तारिक कारण भने अहिलेसम्म बाहिर आएको छैन । यद्यपि, यो हत्याकाण्ड मच्चाउने काम स्व।राजा वीरेन्द्रकै जेठा छोरा दिपेन्द्र शाहले गरेको भन्ने कुरा अपुष्ट बाहिर आएको थियो ।

दिपेन्द्र त्यसबेला आफ्नी प्रेमिका देवयानी राणाको प्रेमसम्बन्धमा रहेको र त्यो सम्बन्धलाई रानी ऐश्वर्यले मन नपराउँदा दिपेन्द्रले त्यस्तो कदम चालेको बताइन्छ । सोही घटनासँग जोडिएको दिपेन्द्र–देवयानीको प्रेमसम्बन्धको कथालाई लिएर अब चलचित्र निमार्ण समेत हुने भएको छ । राजदरबारका पूर्वसचिव विवेक शाहले लेखेको मैले देखेको दरबार नामक पुस्तकमा आधारित भएको सो चलचित्र निर्माण हुन लागेको हो ।

५ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको ‘दीपेन्द्र सरकार’ नामक उक्त चलचित्रका निर्माता सन्तोष सेना हुन् । आशुषेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र नेपाल, बेलायत र अमेरिकामा छायाँकन हुन बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चलचित्रका निर्देशक र अन्य कलाकारहरु भने केही दिनभित्र सार्वजनिक हुने बताइएको छ । चलचित्र २ घण्टाको हुने जनाइएको छ ।
तत्कालीन युवराज दीपेन्द्रलाई दरबार हत्याकाण्ड भएलगत्तै अर्धमृत अवस्थामा नेपालको १३ औं राजा बनाइएको थियो । २०५८ साल जेठ २१ गते २९ वर्षको उमेरमा उनको निधन भएको थियो ।