पु.समाचार

गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।

बनेपा निवासी अधिवक्ता विकास गिरीद्वारा पेस भएको उक्त रिट कार्यालय समय सकिनुभन्दा केहीअघि सर्वोच्च प्रशासनमा दर्ता भएको थियो । पराजुलीको एसएलसीको शैक्षिक प्रमाणपत्र र उमेरका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दर्ता गरिएको छ । पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस रोक्न, संसदीय सुनुवाइ नगर्न र नियुक्ति नदिन गिरीले संवैधानिक परिषद्, सुनुवाइ समिति र राष्ट्रपतिका नाममा अन्तरिम आदेशको माग गरेका छन् ।

बिहीबारका पत्रपत्रिकामा समाचार लेखिएको छ, रिटमा साउन २१ गते अवकाश मिति कायम गरी अवकाशको जानकारी दिन न्यायपरिषद्का नाममा परमादेशसमेत माग गरिएको छ । पराजुली ०४८ साल कात्तिक १८ गते पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् । जेठ २४ मा प्रधानन्यायाधीश कार्कीले अवकाश लिएपछि पराजुली उनको उत्तराधिकारी बन्ने निश्चित भएका बेला यस्तो रिट आएको हो ।