पु.समाचार

काठमाण्डौका मेयर, उपमेयर र वडाध्यक्षहरुले लिए यसरी सपथ

काठमाण्डौ। काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गरेका छन ।

प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्ष र सदस्यहरुलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन। प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा शपथ लिएका छन ।

कार्यक्रममा प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताएका छन। उनले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै कामपामा रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै नगरवासीसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिरे ।

कामपाको मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिए ।

कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीको सुन्दर सपना पूरा गर्नका लागि नगरवासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

नवनिर्वाचित प्रमुख उपप्रमुखले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ, सपथग्रहण कार्यकम लगत्तै नगरसभाको पहिलो बैठक बस्नेछ ।