राजनीति

काँग्रेसले सात तहमा बिना बिबाद उम्मेदवारको टुङ्गो लगायो

रुपन्देही । नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ ।

वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला सभापति एवम् सांसद अब्दुल रज्जाकले जानकारी दिए ।

नेपाली काँग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नववती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् । कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारूले उम्मेदवारी पाएका छन् । गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवारी पाएका मुसलमान नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति हुन् ।

रोहिणी गाउँपालिका प्रमुखमा अकबाल खाँ र उपप्रमुखमा चक्रवतीदेवी योगीले उम्मेदवारी पाएका छन् । मायादेवी गाउँपालिका प्रमुखमा धुव्रनारायण चौधरी र उपप्रमुखमा तारा यादवले उम्मेदवारी पाएका छन् । त्यस्तै, रुपन्देही काँग्रेसले कोटहीमाई गाउँपालिकाको प्रमुखमा वीरेन्द्रकुमार कलवार र उपप्रमुखमा सम्पाति यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मर्चवारी गाउँपालिका प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईले उम्मेदवारी पाएका छन् ।

यस्तै, सिद्धार्थनगर नगरपालिका (भैरहवा) को उपप्रमुखमा माधवी शर्मा वाग्लेले उम्मेदवारी पाएको सभापति रज्जाकले जानकारी दिए । बाँकी रहेका गाउँपालिकाको जिल्ला छनौट समिति र उपमहानगर तथा नगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवार केन्द्रीय छनौट समितिले टुङ्ग्याउनेछ । अन्य नगरपालिकाको उम्मेदारको छिट्टै टुङ्गो लगाउने जिल्ला सचिव रामकृष्ण खाँणले बताए ।