समाचार

बज्राचार्य, मानन्धर र अधिकारीले पाए यो वर्षको तेज–तीर्थ पुरस्कार

काठमाण्डौ । यो वर्षको तेज ट्रष्ट राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार, नेपाल भाषा साहित्य पुरस्कार र पत्रकारिता पुरस्कार विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई वितरण गरिएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा उनीहरुलाई ती पुरस्कारहरु वितरण गरिएका हुन् ।

तेज तीर्थ ट्रष्टद्वारा निर्माण गरिएको उक्त पुरस्कार पाउनेहरुमा फणिन्द्रराज बज्राचार्य, शशिकला मानन्धर र इन्दिरा अधिकारी रहेका छन् । बज्राचार्य, मानन्धर र अधिकारीले क्रमसः नेपाली भाषा सहित्य पुरस्कार, राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार र पत्रकारिता पुरस्कार पाएका छन् ।

पुरस्कार वितरण कार्यक्रमको उद्घाटन् पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । कार्यक्रममा संस्थाको परिचय र पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुको परिचय दिने काम ट्रष्टका उपाध्यक्ष भीमसेनदास प्रधानले गरेका थिए भने पुरस्कार एवम् सम्मानका सम्बन्धमा वरिष्ठ मानवअधिकारवादी कपिल श्रेष्ठ, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र वरिष्ठ पत्रकार हरिहर विरहीले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा.यादवले पुरस्कृत व्यक्तित्वहरुलाई प्रमणपत्र वितरण एवम् सम्मान गरेका थिए भने ट्रष्टका अध्यक्ष तीर्थराम डंगोलले नगद पुरस्कार वितरण गरेका थिए ।

ट्रष्टका उपाध्यक्ष भिमसेनदास प्रधानले पुष्पगुच्छा अपर्ण गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री, र सांसदहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।